कोरोनाको ‘सेकेण्ड भेरियन्ट’ महामारी, ग्यास भर्ने सिलिन्डर आयात सहजीकरण गरिदिन उद्योगीहरुको माग

कोरोनाको ‘सेकेण्ड भेरियन्ट’ महामारी, ग्यास भर्ने सिलिन्डर आयात सहजीकरण गरिदिन उद्योगीहरुको माग

विराटनगर । अक्सिजन नेपालमै उत्पादन हुने भएपनि अक्सिजन भर्नका लागि चाहिने सिलिन्डर भने भारत र चीनबाट आयात हुँदै आएको छ । कोरोना महामारीको संभावित जोखिमलाई मध्यनजर गर्दै सिलिण्डर आयात गर्नुपर्ने आवश्यकता परेकोले सरकारले सहजीकरण गर्नुपर्ने विराटनगरका अक्सिजन उत्पादकहरुले माग गरेका छन् ।

नेपालमा अहिलेकै अवस्थामा तत्काल सिलिण्डरको समस्या नभएपनि जटिल अवस्थालाई मध्यनजर गर्दै २० हजारदेखि ४० हजार सिलिन्डर आयात गर्नुपर्ने उत्पादकहरुले बताएका हुन् । अपर्झट पर्ने भएका कारण आयातको प्रक्रियालाई सरलीकरण गरिनुपर्ने माग अक्सिजन उत्पादक कम्पनिका सञ्चालकहरुले गरेका हुन् ।

अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि उत्पादकहरूले सिलिन्डरको आयात गर्दा भंसार दरमा सहुलियत दिन आग्रह गरेका हुन् ।
कोभिड–१९ को दोस्रो लहरको महामारीलाई दृष्टिगत गर्दै भारत लगायतका मुलुकले अक्सिजन सिलिन्डर लगायतका सामग्रीको पैठारीमा छुट दिएको भन्दै व्यवसायीले नेपालमा पनि सहुलियतको माग राखेका हुन् ।

नेपालका अक्सिजन उद्योगले चीनबाट सिलिन्डरको ल्याउँछन् । मारुती अक्सिजन उद्योगका सञ्चालक शंकरलाल अग्रवालका अनुसार फलामे वस्तुमा एक वर्ष यता विश्वव्यापी रूपमा भएको मूल्यवृद्धिले अन्तर्राष्ट्रिय बजारमा सिलिन्डर पनि महँगो भएको छ । सरकारले छुट दिए अक्सिजन आपूर्ति व्यवस्थापनमा सघाउ पुग्ने उनको भनाई छ ।
सिलिन्डरको पैठारीमा सरकारले १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र भ्याट तोकेको छ । यसमा ढुवानी खर्च पनि जोड्दा ५० प्रतिशत मूल्य अभिवृद्धि हुन्छ । त्यसैले सरकारले अहिलेको महामारी पार लगाउन शून्य वा १ प्रतिशत महसुलमा सिलिन्डरको आयात गर्न पाउने सुविधा दिनुपर्ने उद्योगीहरुको धारणा छ ।

भारतको अवस्थाले नेपालमा अझ भयावह स्थिति आउने अवस्था देखिएको छ । सिलिन्डर आयातको लागि एलसी खोलेको २ महिनापछि मात्र यहाँ आइपुग्छ । त्यसैले सरकारले अहिले नै सचेत हुनु आवश्यक रहेकोले आजैदेखि तयारी तीव्र बनाउनु पर्ने उद्योगीहरुको सुझाव छ ।
विनायक अक्सिजन उद्योगका सञ्चालक अमित शारडाले दुई सातायता घरघरमा व्यक्तिगत रूपले अक्सिजन सिलिन्डर खरिद गरेर फिर्ता नगर्ने प्रवृत्ति बढेकोले हाहाकार हुनसक्नेतर्फ सरकार सचेत हुनुपर्ने औल्याउनुभयो । व्यक्तिका घरमा पुगेका फिर्ता नहुने र अस्पतालमा तीन गुणाले माग बढ्ने अवस्थासम्म हामी छौं, यहि अवस्था रहँदा सिलिण्डर अभाव हुनसक्ने उद्योगी शारडाको बुझाई छ ।मोरङका उद्योगहरूले विराटनगरसहित सुनसरीका इटहरी र धरान तथा झापाका दमक, बिर्तामोड, काँकडभिट्टा र भद्रपुरसम्म सिलिन्डरको आपूर्ति गरिरहेका छन् ।
विनायकले अक्सिजनका दैनिक ५ सय र मारुतीले दैनिक ३ सय सिलिन्डर रिफिल गर्ने क्षमता छ ।

कोभिडका लागि भनेर सिलिण्डर आयात गर्दा समय लाग्छ । यसकारण समय समयमा उद्योगहरुले केही संख्यामा सिलिन्डर किनेर राख्ने गरेको बताएका छन ्। गत वर्षभन्दा थपे पनि अस्पतालहरुमा पठाएको सिलिण्डर लामो समयसम्म होल्ड बस्ने गरेको छ ।
महामारीको समयमा अक्सिजनको माग बढे पनि मूल्य भने बढेको छैन । आयातित सिलिन्डरको मूल्य बढेर आएको छ । गत वर्षदेखि नेपालमा मूल्य नबढेको संघले जनाएको छ ।
हाल १० लिटर अक्सिजन सिलिन्डरको रिटेल मूल्य २५० रुपैयाँ र ४७ लिटर सिलिन्डरको ६ सय रुपैयाँ नै कायम रहेको उत्पादकहरुले बताएका छन् । उपभोक्ताहरुले धरौटीमा पनि लग्ने गरेका छन् भने केहीले १० लिटरको ९ हजार रुपैयाँ र ४७ लिटरको १८ देखि २० हजार रुपैयाँमा खरिद गरेर समेत लाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्