कोरोना महामारीमा अक्सिजन आपूर्ति : कसरी हुनसक्छ सहज व्यवस्थापन, कस्तो छ प्रदेशमा अक्सिजन उपलब्धता

कोरोना महामारीमा अक्सिजन आपूर्ति : कसरी हुनसक्छ सहज व्यवस्थापन, कस्तो छ प्रदेशमा अक्सिजन उपलब्धता

विराटनगर । कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले अतिआवश्यक पर्ने अक्सिजन भर्ने सिलिण्डरको आयात सरकारले तत्काल गर्नुपर्ने अक्सिजन उद्योग सञ्चालकहरुले बताएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले औद्योगिक प्रयोजनका लागि गरिने खरिद प्रक्रिया लामो हुने भएकोले सरकार आफैंले सिलिण्डर खरिद गरेर अस्पतालहरुमा भण्डारण गरिनुपर्ने सुझाव दिएका हुन् । उनीहरुले जी टू जी प्रक्रिया अनुसार सिलिन्डर खरिद गरेर एयर लिफ्टमार्फत ल्याउनुपर्ने सुझाव दिएका हुन् ।

सरकारले खरिद गरेर ल्याएका त्यस्ता सिलिण्डरको आवश्यक पर्ने संख्या उद्योग, निजी अस्पतालहरुले लिनुपर्ने उनीहरुको सुझाव छ । यसैगरी सरकारी अस्पतालमा समेत यस्ता सिलिण्डर सरकारले राख्नुपर्ने उद्योगीहरु बताउँछन् ।
जुन अस्पतालमा अक्सिजन प्लान्ट छैन ती अस्पतालहरुलाई कोटा तोकेर सिलिण्डर राख्नुपर्ने नियम सरकारले लगाउन सक्छ, करिडोर अन्तर्गत बिनायक अक्सिजन उद्योगका सञ्चालक अमित सारडाले भन्नुभयो–तत्काल सरकारले यो काम गर्नुपर्ने देखिरहेको छु । उहाँले संक्रमण जोखिम न्यूनीकरण गर्नका लागि संक्रमितको उपचार गर्ने अस्पतालहरुको संख्या समेत बढाउन आवश्यक देखिएकोले त्यस्ता अस्पतालहरुमा अक्सिजनको भण्डारण गरिनुपर्ने तर्क गर्नुभयो ।

औद्योगिक वा व्यापारिक प्रयोजनका लागि भारत र चीनबाट उद्योगीहरुले सिलिण्डरहरु आयात गर्दै आएका छन् । तर, भारतमा महामारी थेगिनसक्नु भएका कारण अहिले चीनबाट मात्रै अक्सिजनका सिलिण्डर ल्याउन सकिने अवस्था छ । मारुती अक्सिजन उद्योगका सञ्चालक शंकरलाल अग्रवालका अनुसार चीनबाट सिलिण्डर मगाउँदा दुई महिनाम मात्रै आयत हुनसक्छ । कि त सरकारले व्यापारीका लागि सहजीकरण गरिदिनुपर्छ, उद्योगी अग्रवालले भन्नुभयो–हैन भने तत्काल सिलिण्डर सरकार आफैंले आयात गर्नुपर्छ तर सजिलो बाटो सरकार आफैंले खरिद गरेर ल्याएका सिलिण्डर कोटा तोकेर निजी अस्पतालहरुलाई उपलब्ध गराउन हुन्छ ।

सुनसरी–मोरङ करिडोरको बिनायक अक्सिजन उद्योगका आफ्ना चार हजार सिलिण्डर रहेको उद्योगी सारडाले जानकारी दिनुभयो । मारुतीका एकहजार ५०० सिलिण्डर रहेका छन् । त्यस बाहेक दुर्गा अक्सिजन, हिमाल अक्सिजन र पाथीभरा अक्सिजन उद्योग करिडोरमा रहेका छन् । बाँकी तीनवटा उद्योगको समेत औसत संख्यामा मात्रै सिलिण्डरहरु रहेको उद्योगीहरु बताउँछन् ।
अहिले दैनिक ५०० सय सिलिण्डर अक्सिजन रिफिल गरिरहेका उद्योगहरुले आवश्यकता परेको खण्डमा एक हजार ५०० सय सिलिण्डर रिफिल गर्ने क्षमता राख्दछन् । दैनिक १२ घण्टा मात्रै उद्योग सञ्चालनमा रहेका कारण जरुरी परेको खण्डमा त्यसलाई बढाउन सक्ने क्षमता रहेको सारडा बताउनहुन्छ ।

भरिएका सिलिण्डरमध्ये ७५ प्रतिशत अस्पतालमा र २५ प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुँदै आएका छन् । सरकारले औद्योगिक प्रयोजनका लागि खपत भईरहेका सिलिण्डर अस्पताल प्रयोजनका लागि प्रयोगमा ल्याउने निर्णय गरेपनि अहिलेसम्म होल्ड भएका सिलिण्डर फर्कने क्रम सुस्त रहेको उद्योगीहरु बताउँछन् । घरमा वा अस्पतालमा सिलिण्डर होल्ड गर्नु भएन, उद्योगी अग्रवालले भन्नुभयो–महामारीको समयमा अक्सिजन आपूर्ति प्रणाली सहजीकरण गर्न सरकारी संयन्त्र आफैं क्रियाशिल हुनुपर्ने देखिरहेको छु ।
उद्योगले उत्पादन गरेका अक्सिजन सिलिण्डर डिलरहरुमार्फत अस्पतालमा पुग्ने गरेका हुन् । उद्योगले समेत डिलरमार्फत नै सिलिण्डर लाने गरेका छन् ।

सिलिण्डर सप्लाई गर्दै आएका विराटनगरका व्यवसायी सोम पाण्डेले अहिले मुख्य समस्या सिलिण्डरको होल्डमा रहेको बताउनुभयो । तत्काल नचाहिनेहरुले समेत सिलिण्डर होल्ड गरेर राखिदिएका छन्, जसले बजारबाट फिर्ता हुने गति सुस्त देखिरहेको छु ।
उद्योगीहरुले अस्पतालहरुले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेका र गरिरहेका भएपनि तत्कालको आवश्यकता पूरा गर्न सरकारी चासो नै बढी लाभदायी हुने कुरामा जोड दिएका छन् ।

अस्पतालका आफ्नै प्लान्ट

प्रदेश १ मा मोरङ, सुनसरी र झापाका ठूला अस्पतालले छुट्टै अक्सिजन प्लान्ट सञ्चालन गर्दै आएका छन् । अस्पतालकै अक्सिजन प्लान्ट भएका कारण धेरै अस्पतालले आवश्यक अक्सिजन बाहिरबाट ल्याउन नपर्ने अवस्था छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूलाई पुग्ने अक्सिजन आफैंले उत्पादन गरिरहेको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणी पोखरेलका अनुसार अहिले भईरहेको दैनिक खपत आफैं उत्पादन भईरहेको बताउनुहुन्छ ।

झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै सञ्चालनमा ल्याइसकेको छ । मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणी भट्टराईले दैनिक १८ वटा सिलिण्डर अक्सिजन उत्पादन भइरहेको जानकारी दिनुभयो ।
कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको काम गरिरहेका छन् । तर, तत्काल महामारीका लागि त्यसले भरथेग गर्ननसक्ने देखिन्छ । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधिन छ ।

कोभिड–१९ संक्रमितको उपचारका लागि ७५ शै्याको अलग अस्पताल समेत सञ्चालन गरिरहेको मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको हो । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको छ ।

विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बि एन्ड सी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् । बिएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ । यसैगरी पूर्वाञ्चल क्यान्सर अस्पताल समेत सञ्चालन गर्दै आएको बिएन्डसी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिण्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्