अक्सिजन नहुँदा मोरङ–सुनसरी करिडोरका फलाम उद्योग बन्द

अक्सिजन नहुँदा मोरङ–सुनसरी करिडोरका फलाम उद्योग बन्द

विराटनगर । मेशिनमा फलाम अड्किँदा वा फलामका बिलेट काट्नका लागि प्रयोग गरिने अक्सिजनको आपूर्ति बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका फलाम उद्योग बन्द गरिएका छन् । कोरोना सङ्क्रमणसँगै औद्योगिक क्षेत्रमा हुने अक्सिजन आपूर्ति बन्द भएपछि त्यसको असर फलामे उद्योग बन्द भएका हुन् ।

करिडोरका पशुपति आइरन, हुलास वायर, कमला रोलिङ, आरती स्ट्रिप्स, मैनावती स्टिल, प्रिमियर वायर, प्रिमियर स्टिल उद्योग बन्द गरिएका छन् । आफ्नै अक्सिजन उद्योग भएको प्रिमियर स्टिल र प्रिमियर वायर पनि बन्द गरिएको छ । प्रिमियरका सञ्चालक एवं उद्योगी पवनकुमार शारडाले औद्योगिक क्षेत्रमा रहेका अक्सिजनका सिलिण्डर मेडिकल प्रयोग प्रयोजानार्थ फिर्ता गरिएसँगै फलाम उद्योगबाट हुने उत्पादन बन्द गरिएको जानकारी दिनुभयो ।

सरकारको निर्णय कार्यन्वयन बाहेक अर्को विकल्प हामीसँग पनि छैन, उद्योगी शारडाले भन्नुभयो–यस्तो हाल छ की कसैलाई काम गर्न बोलाउन वा काम लगाउन सक्ने स्थिति छैन । उहाँले आफ्नै स्वामित्वको विनायक अक्सिजन उद्योगले उत्पादन गर्ने अक्सिजन समेत फलाम उत्पादनका लागि प्रयोग गर्न नचाहेको बताउनुभयो । प्रिमियर स्टिल उद्योगले दैनिक ८ सय मेट्रिक टन क्षमता राख्दछ । निर्माणमा प्रयोग हुने फलामका कुनैपनि सामान उत्पादन गर्न रोकिएको शारडाले बताउनुभयो । प्रिमियर कै उत्पादन वायरमा भने अक्सिजनको भूमिका कम हुने भएकोले सञ्चालनमा रहेको उहाँले बताउनुभयो । तर,उत्पादन क्षमता भने २५ प्रतिशत मात्रै रहेको बताइन्छ ।

पशुपति आइरनका सञ्चालक अशोक मुरारकाका अनुसार फलामे उद्योग एक मिनेटपनि अक्सिजन बिना सञ्चालन हुनसक्ने बताउनुभयो । ‘प्रोडक्ट’ मेशिनमा अड्कियो भने त्यसलाई काट्न अक्सिजन नै चाहिन्छ, उद्योगी मुरारकाले भन्नुभयो–उत्पादनका अन्य प्रक्रियामा पनि अक्सिजन अनिवार्य जस्तै हुन्छ फलामे उद्योगलाई ।
गत हप्तादेखि सरकारले देशभरिका औद्योगिक क्षेत्रमा प्रयोग हुने अक्सिजन सिलिण्डरलाई फिर्ता गर्न निर्देशन गरेको थियो । अक्सिजन उद्योगहरुले समेत अहिले औद्योगिक प्रयोजनका लागि खपत हुने सिलिण्डर रिफिल गरेर पठाउन छोडिसकेको बिनायक अक्सिजन उद्योगका सञ्चालक अमित शारडाले बताउनुभयो ।

बिनायक अक्सिजनका सञ्चालक शारडाका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित चारवटा अक्सिजन उद्योगले उत्पादन गर्ने अक्सिजन सिलिण्डरको २५ प्रतिशत औद्योगिक प्रतिष्ठानमा खपत हुँदै आएको थियो । ती सिलिण्डर अहिले मेडिकल प्रयोग प्रयोजनार्थ मात्रै पठाउने गरिएको छ ।

फलाम उद्योगका सञ्चालकले कामदारको पारिश्रमिक र बिद्युतको महशुलको विषयमा सरकारले केहि प्याकेज दिनुपर्ने माग गरेका छन् । पूर्वका सबैजसो फलामे उद्योगले आफ्नै अक्सिजनका सिलिन्डर भएपनि अहिले अक्सिजन उद्योगले औद्योगिक प्रयोजनका लागि रिफिल नगर्ने गरेको उद्योगी मुरारकाले बताउँदै भन्नुभयो–बिद्युतको मासिक पाँच करोड र तीन सय कामदारको भुक्तानी बाहेक अन्य विषयमा चिन्ता छैन ।
एउटै उद्योगले दैनिक ४० सिलिण्डर भन्दा बढी अक्सिजन खपत गर्दै आएका थिए । पशुपति आइरनलाई दैनिक ४० वटा सिलिन्डर चाहिने गरेको उद्योगी मुरारका बताउनहुन्छ । आरतीका उपाध्यक्ष अश्विनी शर्माले उद्योगको स्टिल युनिट ५ दिनदेखि पूर्ण बन्द भएको जानकारी दिनुभयो । उद्योगको कर्कट पाताको युनिट भने २५ प्रतिशत क्षमतामा चलिरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्