विराटनगरमा गोदाममा शिलबन्दी गरिएको ४० मेट्रिक टन दाल निषेधाज्ञाको मौका छोपेर सुटुक्क फिर्ता पठाइयो

विराटनगरमा गोदाममा शिलबन्दी गरिएको ४० मेट्रिक टन दाल निषेधाज्ञाको मौका छोपेर सुटुक्क फिर्ता पठाइयो

विराटनगर । प्याकेजिङमा त्रुटी भेटिएपछि गत फागुन १२ गते विराटनगर–७ स्थित जैसानी ट्रेड कन्सर्नको गोदाममा शिलबन्दी गरिएको दाल निषेधाज्ञाको समयमा सुटुक्क फिर्ता पठाइएको छ । गत मंसिर १७ गते भन्सार जाँचपास गरेर भित्र्याइएको ४८ मेट्रिकटन मध्ये बिक्री हुन बाँकी ४० मेट्रिक टन दाल बैशाख ३० गते पैठारीकर्तामार्फत मुजाम्बिकस्थित उत्पादक एग्री कमोडिटिज फाइनान्सलाई नै फिर्ता पठाइएको हो ।

दाल फिर्ता पठाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चैत ३१ गते स्वीकृति दिएको थियो । विभागको निर्णय अनुसार विराटनगर भन्सार कार्यालयले दाल फिर्ता पठाउन बैशाख ३ गते स्वीकृति प्रदान गरेको थियो ।
पैठारी गरिएकोमध्ये ८ मेट्रिक टन दाल बिक्री भईसकेपछि प्याकेजिङमा त्रुटी फेला पारिएको ४० मेट्रिकटन दालको गोदाममा लगाइएको शिलबन्दी तोडेर भन्सार कार्यालय हुँदै जैसानीले एग्री कमोडिटिज फाइनान्सलाई दाल फिर्ता पठाएको छ । खरिदका क्रममा कुनै त्रुटी फेला पारिए १२० दिनभित्र फिर्ता लैजाने शर्तबमोजिम दाल फिर्ता पठाइएको जैसानीका प्रतिनिधिले बताएका छन् ।

दाल फिर्ता पठाईसकिएपछि प्रक्रियागत कागजातको विवरणसहित जैसानीले जेठ १२ गते विभागलाई जानकारी दिएको थियो । दालको सम्बन्धमा उत्पादक कम्पनिले नै आफ्नो प्याकेजिङमा त्रुटी भएको नेपालको कानुनले ठहर गरेमा फिर्ता लैजाने आशयको पत्र पठाएको थियो ।
दाल प्याकेजिङ गरिएको बोरामा उत्पादन र उपभोग्य अवधी परिवर्तन गरिएको लेवल टाँस गरिएको पाइएपछि कारवाही स्वरुप तत्काल तीनलाख रुपैँया जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले शिलबन्दीसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीनलाख रुपिँया जरिवाना गरेको हो ।

पैठारीकर्ता ईटीजीले दाल निर्यात गर्दा गाफ्ता (टे«ड फिड बीमा प्रमाणपत्र, अनाज र फिड ट्रेड) प्रमाणपत्रसहित जैसानीलाई पठाएका कारण फिर्ता लिन समेत सहमत भएको र त्यहि परिमाणको दाल पुनः जैसानीलाई पठाउने जनाएको छ ।
आयातकर्ता जैसानीलाई समेत खाद्य प्रयोगशाला, क्वारेन्टाइन र खाद्य आयात–निर्यात प्रमाणीकरण कार्यालयले ‘चारित्रिक गुणस्तर अनुरुप अनुकुल पाइएको’ भनेर स्वीकृति प्रदान गरिदिएको थियो । तर, जैसानीले आयात गरेको ४८ टनमध्ये गोदाममा फेला परेको ४० टन दाल प्याकेजिङ गरिएको दुईहजार ७०० बोराको बाहिरी भागमा दुईवटा लेवल भेटिएको थियो । उत्पादक कम्पनीले बोरामै प्रिन्ट गरेको लेवलमा सन् २०१३ मा उत्पादन भई २०१५ सम्ममा दाल उपभोग गर्ने अवधी लेखिएको थियो । बोरामा भएको त्यो प्रिन्टलाई छोप्ने अर्को लेवलमा भने सन् २०२० मा उत्पादन भई २०२२ मा उपभोग्य मिति उल्लेख गरिएको थियो । यसलाई उत्पादक कम्पनिले कोरोना संक्रमणका कारण बोरा अभाव हुँदा पहिलेको बोरा प्रयोग गरिएकोले दालमा कैफियत नभएको भन्दै फिर्ता लिन स्वीकार गरेको हो ।

खुद्रा बिक्रेता हुँदै आयातकर्तासम्म पुगेर गोदाम शिलबन्दी गरिएको दालको विषय निक्कै विवादित भएको थियो । तर, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको २०७६ कार्तिक १७ गते गरेको निर्णय अनुसार दाल फिर्ता पठाउन नमिल्ने थियो । उत्पादकले लेवल विवरणमै उपभोग्य अवधी बारे स्पष्ट रुपमै उल्लेख गरेको अवस्था भएमा त्यस्ता वस्तुको विश्लेषण गर्न आवश्यक नपर्ने निर्णय विभागले आफैं गरेको थियो । लेवलमै म्याद सकिएको वा म्याद बाँकी रहेको अवस्थामा पाइएको दाल संकटको मौकामा साटाकसुटुक्क मिलाएर फिर्ता गरिएको छ ।

विभागको निर्णय अनुसार लेवलमै त्रुटी भेटिएका त्यस्ता खाद्य पदार्थ बरामद भएको अवस्थामा खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम मुचुल्का लगायत लेवलको बारेमा कारवाही गर्ने स्पष्ट निर्देशन थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले तीनवटा अवस्थामा कारवाही चलाउनु पर्ने देखिएको दालको विषय फिर्ता पठाउने निर्णय गर्दै सकिएको हो । शिलबन्दी गरिएको दाल नष्ट गर्ने, आयातकर्तालाई मुद्दा चलाउने वा फिर्ता पठाउन सक्ने अवस्था भए फिर्ता पठाउन अनुमति दिने तीन आधार रहेको पोखरेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्