कोरोनाले सुस्ताएको सुनसरी–मोरङ औद्योगिक करिडोरमा चहलपहल बढ्न थाल्यो

कोरोनाले सुस्ताएको सुनसरी–मोरङ औद्योगिक करिडोरमा चहलपहल बढ्न थाल्यो

विराटनगर । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दैनिक घट्दै गएपछि सुनसरी–मोरङमा औद्योगिक चहलपहल बढ्न थालेको छ । निर्धक्कसँग नभएपनि औद्योगिक प्रतिष्ठानहरुका गतिविधि बढ्न थालेको हो ।

बैशाखमा संक्रमणको जोखिम बढ्दा ८० प्रतिशत उद्योगले उत्पादन कटौती गरेर ५० प्रतिशतमा झारेका थिए । करिडोरका २० प्रतिशत उद्योग पूर्ण रुपमै बन्द भएका थिए । फलाम तथा स्टील उद्योग अक्सिजन अभावका कारण नै बन्द गर्नुपर्ने अवस्था आएको थियो ।
तराई जस्तै पहाडमा समेत संक्रमणको उच्च जोखिम रहेका कारण गतवर्षको लकडाउनको तुलनामा यो वर्षको निषेधाज्ञामा वस्तुको माग भने घटेको उद्योगीहरुको दावी छ । पहाडी जिल्लामा कोरोना संक्रमण फैलदाँ र निर्माणको काम सुस्ताउँदा वस्तुको माग गतवर्ष भन्दा घटेको उनीहरु दावी गर्दछन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले औद्योगिक क्षेत्रमा केहि चहलपहल बढेपनि उद्यागी, कर्मचारी र कामदार निर्धक्क हुने अवस्था चाँहि नरहेको बताउनुभयो । ‘जबसम्म कम्प्लेट भ्याक्सिनेशन हुँदैन, तबसम्म सहज वातावरणमा त फर्कदैन’ अध्यक्ष प्याकुरेलले भन्नुभयो–सावधानी अपनाएर उद्योगहरु क्रमशः चलायमान हुँदैछन् । उद्योगीहरुले अब विस्तारै संक्रमण घट्दै जाने र वस्तुको माग बढ्न सक्ने भन्दै उत्पादनलाई क्रमशः बढाउँदै लगेका हुन् ।

विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार गतवर्षको लकडाउन भन्दा अहिलेको निषेधाज्ञामा मालवस्तुको पैठारी र भन्सार महसुल सकारात्मक देखिन्छ । गतवर्ष बैशाखमा १ अर्ब ६ करोड मात्रै भन्सार राजश्व संकलन गरेको भन्सार कार्यालयले चालु आर्थिक वर्षको बैशाखमा ३ अर्ब ५२ करोड राजश्व संकलन गरेको छ । लक्ष्य ५ अर्ब ४९ करोडको ६४.३० प्रतिशत मात्रै भएपनि गतवर्षको बैशाखमा भने २६ प्रतिशत मात्रै लक्ष्य प्राप्ती भएको थियो ।

भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार चालुको बैशाख महिना भन्दा जेठको निकासी पैठारी र भन्सार महसुल घट्दो छ । तर, गतवर्ष जेठ महिनाको तुलनामा भने चालुमा बढेको छ । चालु महिनाको २४ गतेसम्म २ अर्ब ४६ करोड राजश्व संकलन भईसकेको छ । जेठ महिनाको लक्ष्यका आधारमा ४४.७१ प्रतिशत हो । महिनाको २४ दिनलाई आधार मान्दा समग्र महिनामा ५८ प्रतिशतमा प्रगति सिमित हुने अनुमान गरिएको छ । गतवर्षको जेठमा २ अर्ब २३ करोड रुपिँया मात्रै राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

उद्योगीहरुले फागुन–चैतमै आयात प्रक्रिया बढाएको कच्चा बैशाख र जेठमा भन्सार जाँचपास भएको बताएका छन् । प्रिमियर स्टिलका सञ्चालक एवं उद्योगी पवन सारडाले आयात गरिएको कच्चा प्रशोधन समेत बैशाख र जेठमा समस्या भएको बताउनुभयो । माग घटिरहेकोले उत्पादनमा जोड दिएका थिएनौं उद्योगी सारडाले भन्नुभयो–पछिल्लो एकसातायता केहि चहलपहल बढाउँदै उत्पादनको लयमा फर्केका छौं । उहाँका अनुसार अहिले उद्योगको प्रकृति हेरि ५० देखि ८० प्रतिशतसम्म उत्पादन भईरहेको बताउनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजार नखुल्दासम्म माग नबढ्ने र उत्पादन बिक्री नहुने बताउनुभयो । उहाँले सहजै बजार खोल्न सक्ने अवस्था समेत नरहेकोले त्यसका लागि खोपको वातावरण सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक श्याम भण्डारीले औद्योगिक करिडोरका ६० हजार कामदारमध्ये ४० प्रतिशत कामदार औद्योगिक प्रतिष्ठानले कटौती गरेको जानकारी दिनुभयो । उत्पादन भएको वस्तुको माग नहुँदा मजदुरको कटौती गरेर उद्योगहरु सञ्चालन गर्नुपर्ने अवस्था आएको उहाँको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्