खुल्न थाल्यो बजार, तर अझै जोखिममा विराटनगर

खुल्न थाल्यो बजार, तर अझै जोखिममा विराटनगर

- सरोज कार्की
तथ्याकंलाई आधार मान्ने हो भने विराटनगर महानगरपालिका कोभिड-१९ महामारीको जालोमा मुछिएको सहर हो ।प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याकं अनुसार महामारी सुरु भएयता हालसम्म कोरोना भाईरसबाट १८ हजार ३ सय २८ जना विराटनगरवासी संक्रमित भईसकेका छन् । र, १ सय ९७ जनाको मृत्यु भईसकेको छ । आज जेठ ३० गते अघिसम्मको तथ्याकं हेर्ने हो भने विराटनगर महानगरपालिकामा कोरोना भाईरसको ३ हजार ३५६ जना सक्रिय संक्रमित रहेका छन् ।

तर बैंक, अस्पताल र पसलहरुमा मानिसहरुको उस्तै भिड बढ्दैछ। स्वास्थ्य सावधानी र सामाजिक दुरी विस्तारै हराउदै गएको देखिन्छ । बजारको अवस्था हेर्दा कोरोना भाईरस हामी बिच नभएको जस्तो देखिन्छ तर तथ्याकंले भने ठिक विपरित विराटनगर अझै पहिले कै जस्तो अवस्थामा रहेको देखाएर चिन्ताजनक अवस्थालाई दर्साईरहेको छ ।

स्वास्थ्य मन्त्रालयले ५ सय भन्दाबढी कोरोनाभाइरसको सक्रिय संक्रमित भेटिएका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ । तर यता मोरगं जिल्लामा ५ हजार ७ सय ८१ जना सक्रिय संक्रमित हुँदा यसको ५८.0५ प्रतिशत अर्थात ३ हजार ३ सय ५६ जना सय भन्दा बढि संक्रिय संक्रमित विराटनगरमा मात्र रहेका छन् ।

यहाँ अझै प्रत्येक दिन १ सय जना भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिरहेको छ। विराटनगरमा दुई दिन अघि एक सयभन्दा कम संक्रमित देखिएका थिए । तर शनिवार पुन: त्यस संख्या एक सयको पार पुग्यो । जेठ २५ गते ४ जना, २६ गते ३ जना र २७ गते पुन: ४ जनाले एकै दिन जीवन गुमाउँदा हालसम्म १ सय ९७ जनाको विराटनगरमा संक्रमणले मृत्यु भईसकेको छ ।
र यो कुरामा सबै भन्दा चिन्ताजनक कुरा के हो भने, यस तथ्याकंको पहाडले सबै भन्दा बढि दोश्रो लहरको संक्रमणमा उचाई लिएको छ । पहिलो संक्रमण पछि गत भदौ महिनाको सुरुवात अर्थात २०७७ साल भदौ ३ गतेका दिन विराटनगर महानगरपालिकामा जम्मा ७ सय ४१ जना संक्रमित थिए भने ६ जनाको मात्र मृत्यु भएको थियो । दोश्रो लहर पछि यो संख्या करिब १२ गुणा बढिले बढेको छ ।


विराटनगरमा दोश्रो लहरमा मात्र ९ हजार ३ सय ८८ जनामा संक्रमण देखिएको छ र त्यस संख्याको ६२ प्रतिशत मानिस अर्थात ५ हजार ४ सय ८२ जना मानिस संक्रमणमुक्त भए भने ३ हजार ३ सय १८ जना अर्थात ३६ प्रतिशत मानिस अझ सक्रिय संक्रमितका रुपमा रहेका छन् । 
दोश्रो लहरको अवधीमा १ सय २८ जना अर्थात १ प्रतिशत मानिसको मृत्यु भईसकेको छ ।

हालसम्म विराटनगरमा महानगरमा ३२ हजार २६ पटक पिसिआर परीक्षण गरिएको छ भने ५ हजार ७ सय २४ पटक आरडिटि एन्टिजेट परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ ।

पछिल्लो समय विराटनगरमा आएको कोभिड १९ विरुद्धको ३ हजार ५ सय ४८ भायल भेरोसेल खोपमध्ये विराटनगर ३, ९, १५ लगायतका वडाहरुले दोश्रो दिनको खोप कार्यक्रम रोक्दै खोप फिर्ता गरेका थिए । यसै विषयमा वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगतले खोप अपर्याप्त भएको र खोप वितरणमा आफुहरुसँग तथ्याकं नै नलिएर दोश्रो दिन जम्मा १७ भायल खोप पठाएकोले ति सबै खोप फिर्ता गरिएको बताए ।

अहिले महानगरसँग १ सय ९० भायल खोप उब्रिएको छ र ति कसलाई प्रयोग गर्ने भन्ने योजना बनाईने महानगरका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले बताउनु भयो ।

अपर्याप्त खोप, फितलो चेनब्रेक प्रक्रिया, कमजोर स्वास्थ्य मापदण्डको पालना र अनियन्त्रित सिमाना लगायतका कारण प्रदेशको राजधानी विराटनगर दोश्रो लहरको जोखिम अझ कायमै भएको देखिन्छ । यसबारेमा विराटनगर महानगरपालिका र प्रदेश सरकार कतिको सचेत छ ? यसको जवाफ खोज्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्