विराटनगर । मोरङको जहदा गाउँपालिका– ४ का सन्तोषकुमार सिंहले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । उनको घर तरकारी खेतीको पकेट क्षेत्रमा पर्छ । व्यवसायीक रुपमा तरकारी खेती गरिरहेका उनले पछिल्लो समय गाइ पालन पनि सुरु गरेका छन् । घरमा कुटानी पिसानी मिल राखेका छन् । सन्तोष ट्याक्टर पनि चलाउँछन् । उनकी श्रीमती किराना पसल सञ्चालन गर्छिन् ।
सन्तोषले उत्पादन गरेको सिजन अनुसारको तरकारी विराटनगरसहित झापाका बजारसम्म पुग्छ । गाइको दूध घरबाटै बिक्री भइरहेको छ । ६ वटा उन्नत जातका गाई पालिरहेका सन्तोष दैनिक ६० लिटर दुध बिक्री गर्छन् । जहदा कृषि फर्म मार्फत व्यवसाय सञ्चालन गरिरहेका सन्तोषले ४–५ जनालाई नियमित रोजगारी पनि दिएका छन् ।
तरकारी खेतीको आम्दानीले सन्तोषले दुई बिघा जग्गा जोडेका छन् । घर पनि बनाएका छन् । घर खर्च कटाएर बचत गरिरहेका छन् । ‘पहिले हाम्रो आर्थिक अवस्था राम्रो थिएन, अहिले २ बिघा जति जग्गा जोडेको छु,’ उनले भने,‘ लिजमा पनि जग्गा लिएर काम गर्छु, छोराछोरीलाई पढाइरहेको छु ।’
सन्तोषकुमारको प्रगतिको यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहयोग छ । सुरुमा तरकारी खेतीका लागि जीवन विकासले उनलाई सहयोग गरेको थियो । जीवन विकासकै ऋण सहयोगमा उनले ट्याक्टर किनेका थिए । गाइ पालनका लागि पनि उनलाई जीवन विकासले सहयोग गरेको छ । ‘जीवन विकासले समय समयमा सहज रुपमा ऋण दिएको छ,’उनले भने,‘ तालिम पनि दिएको छ ।’
आफ्नो व्यवसायबाट सन्तुष्ट रहेका सन्तोषले खेती र पशुपालन व्यवसायलाई विस्तार गर्दै लैजाने योजना बनाएका छन् ।
भिडियो हेर्नुहोस् :