विराटनगरमा एक अर्ब लगानीमा खुल्यो औषधी उत्पादन गर्ने उद्योग

विराटनगरमा एक अर्ब लगानीमा खुल्यो औषधी उत्पादन गर्ने उद्योग

विराटनगर । विराटनगरमा औषधिको नयाँ उद्योग खुलेको छ । औषधिजन्य व्यापारमा संलग्न मन्टु घिमिरे, कमलेश घिमिरे लगायतका १३ जनाको साझेदारीमा विराटनगर–१२ मा निप्पोन फर्मास्युटिकल्स प्रालि सञ्चालनमा आएको हो।

एकअर्ब लगानीमा खुलेको उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ। विराटनगरमा मनीष अग्रवालको एमटेक फर्मा र सुवर्णभक्त जोशीको एलाइभ फर्मा गरी दुई औषधि उद्योग सञ्चालनमा छन् । नयाँ थपिएपछि अब सञ्चालनमा रहेका औषधि उद्योगको संख्या तीन पुगेको छ। तीन वटा औषधि उद्योग यसअघि बन्द भइसकेका छन् । किशोर प्रधानको विराट फर्मास्युटिकल्स, ओमकार चापागाईंको दिङ्ला फर्मा र अरुण गुप्ताको मिलन फर्मास्युटिकल्स् बन्द भएका हुन्।

तीनवर्ष अगाडीदेखि १० कट्ठा जमिनमा पूर्वाधार तयार पारेपछि व्यवसायिक उत्पादन सुरु गरेको छ। सञ्चालक मन्टु घिमिरेका अनुसार पहिलो चरणमा पारासिटामोल ग्रुपको ५ सय एमजीको गोली, सिरप र सस्पेन्सन गरी ३ वटा प्रकार, एजिथ्रोमाइसिन ग्रुपको एन्टिबायोटिक्सको २५० र ५०० एमजी गरी २ वटा प्रकार र घाउखटिरामा प्रयोग गरिने म्युपिरोसिन मलहमको एक प्रकार गरी ३ ग्रुपका ६ वटा प्रकारका औषधि उत्पादन भएका छन् ।

उद्योगले तत्काल तीन वटा भवनबाट उत्पादनको काम सुरु गरेको छ। पहिलो भवनमा एन्टिबायोटिक्स र पेन्सिलिन औषधिको उत्पादन गरिन्छ। त्यस्तै दोस्रोमा ट्याब्लेट, क्याप्सुल, झोल ओखती, मलहम आदिको उत्पादन हुन्छ। तेस्रो भवन रिसर्चका लागि छुट्याइएको छ।
पेन्सिलिन बिल्डिङलाई आगामी साउनदेखि पूर्ण क्षमतामा उपयोग गरिने उनले बताए। औषधि व्यवस्था विभागले उद्योगलाई ९६ प्रकारका औषधि उत्पादन गर्ने अनुज्ञापत्र दिएको जानकारी उनले दिए। एक वर्षभित्र विभिन्न ग्रुपका निप्पोनले एक सय प्रकारका ओखती बजारमा ल्याउने लक्ष्य राखेको छ।

औषधि उत्पादनका लागि उद्योगले भारत, चीन, जापान र स्वीटजरल्यान्डबाट अत्याधुनिक मेसिन ल्याएको छ। उद्योगको आफ्नै अत्याधुनिक रिसर्च युनिट छ। सबै उत्पादनहरू रिसर्चमा प्रमाणित भएपछि मात्र बजारमा पठाइने दाबी छ ।
उद्योगमा हिमालय बैंकको ऋण लगानी छ। तत्काल यहाँ ५२ जनाले रोजगारी पाएका छन्। आगामी साउनदेखि एक सयले रोजगारी पाउने बताइएको छ । उद्योगले आफ्ना उत्पादनलाई नेपालभरि पठाउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्