उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रममार्फत २० यूवालाई उद्यमी बनाउने

उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रममार्फत २० यूवालाई उद्यमी बनाउने

विराटनगर । उद्योग संगठन मोरङले २० जना व्यवसायीक यूवालाई उद्यमीमा रुपान्तरण गर्ने योजना अगाडी सारेको छ । खुल्ला रुपमा आवेदन माग गरेर नविन व्यवसायीक सोच विचार तथा अवधारणा भएका युवाहरुलाइ १८ महिना भित्र उद्यमशील बनाउने योजना सारिएको हो ।
संगठनले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गर्दै साउन ३२ गतेसम्मका लागि व्यवसायिक योजना भएका युवाहरुसँग आवेदन माग गरेको छ । उद्योग संगठन मोरङ अन्तर्गत स्टार्टअप तथा इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाका अनुसार योजनामा मात्र भएका वा सञ्चालित भई दुई वर्ष नकटेका व्यवसायीहरुले आवेदन दिनसक्नेछन् । यसका लागि नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुसरण भएका कृषि तथा कृषिजन्य व्यवसायको श्रृंखला भित्र पर्ने स्थानीय कच्चा पदार्थमा आधारित चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुनुपर्नेछ ।

महत्वकांक्षी तर नमूना कार्यक्रमको पहिलो चरणमा आवेदकमध्ये २० यूवा व्यवसायीलाई छनौट गरिनेछ । परेका आवेदनको छनौट गर्दा नविन व्यवसायीक सोच तथा अवधारणलाई प्राथमिकतामा राखिने संयोजक गोल्छाले जानकारी दिनुभयो । व्यवसायीहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागि प्राविधिक एवं व्यवसायिक विकास, वित्तिय एवं अन्य लगानीको पहुँचका लागि सहजीकरणको भूमिका उद्योग संगठनले गर्नेछ ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेका अनुसार आवेदकमध्ये छनौट भएका व्यवसायीलाई योजना तर्जुमा, वित्तिय व्यवस्था, व्यवसाय दर्ता, कानूनी परामर्श, प्रशासनिक परामर्श, बजार व्यवस्थापन तथा ब्राण्डिङ्ग, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संशाधन तथा जिन्सी व्यवस्थापनसँग सम्बन्धित परामर्श निःशुल्क प्रदान गरिने छ । यसैगरी उद्योगी–व्यवसायी, लगानीकर्ता र वितरकहरुसँगको सञ्जालीकरण, वित्तिय पहुँचका लागि लगानीकर्ता, बैंक तथा वित्तिय संस्थासँग समेत सहजीकरणमा पहल संगठन लिने अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।

कार्यक्रमको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै संगठनका अध्यक्ष प्याकुरेलले प्रदेशस्तरबाटै आवेदन माग गरिएको बताउनुभयो । छनौटमा परेका उनीहरुका लागि नविल बैंकको दिगो बैंकिङ कार्यक्रममार्फत १५ लाख, २५ लाख र एक करोड रुपिँयासम्म लगानी गरिने भएको छ । बैंकका प्रदेश प्रमुख सुवोध लोहोनीले बैंक आफैं व्यवसायी खोज्दै हिड्नु पर्ने अवस्थामा संस्थागत पहलमा जोडिने व्यवसायीका लागि निर्धक्क लगानी गरिने बताउनुभयो ।

यो कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालय, प्राविधिक शिक्षालय, गैर सरकारी क्षेत्र, अनुसन्धान केन्द्रसँग समेत समन्वय गरिने भएको छ । समितिका संयोजक गोल्छाका अनुसार पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, अन्तरप्रेरणा प्रा।लि।सँग कार्यक्रमका लागि सहकार्य गरिने भएको छ । त्यस बाहेक स्थानीय तह र प्रदेश सरकारसँग समेत संगठनले कार्यक्रम अवधारणका बारेमा जानकारी गराएर सहजीकरण गर्ने अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।

यस कार्यक्रममा सहभागी हुनका लागि यो फारम भर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्