आज ४३ औँ पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ४३ औँ पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गर्दै आज ४३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पुष्पलालले विसं २००६ वैशाख १० गते नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

उहाँले चारजना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो । नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो ।

कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले साम्यवादी विचारधाराको प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभएको थियो । त्यसपछि उहाँले कम्युनिष्ट पार्टीलाई एकिकृत गर्दै संगठित गर्नुभएको थियो । पुष्पलाललाई नेपालमा माक्सवादी विचार फैलाउने प्रथम व्यक्तित्व र जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने सिद्धान्तकारका रुपमा लिने गरिन्छ ।

पुष्पलालको व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उहाँले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिनुभएन । नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहनुभयो ।

अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उहाँले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गर्नुभएको छ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । -रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्