मेमोरी किङ शर्माद्वारा अर्को विश्व कीर्तिमान, प्रमाणित गर्न गिनिजमा पठाए

मेमोरी किङ शर्माद्वारा अर्को विश्व कीर्तिमान,  प्रमाणित गर्न गिनिजमा पठाए

झापा

सानैदेखि तीक्ष्ण दिमाग भएका झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान स्थापित गरेका छन् । उनि हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा छन् । ‘मेमोरी किङ’ उपनामले परिचित उनले मेची बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका शर्मा ३२ वर्षका भएका छन् ।

उनले वि.सं. २०७२ सालमा एक मिनेटमा ४२ वटा बस्तु श्रृंखलाबद्ध स्मरण गरेर पहिलोपल्ट गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।

त्यसपछि भारतका नवल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गरेर शर्माको कीर्तिमान उछिनेका थिए । शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वटा वस्तुको स्मरण गर्नमा सफलता पाएको दावी प्रस्तुत गरेका छन् । विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरि आफुले यही असार २६ गते नयाँ कीर्तिमान कायम गरेको उनले जानकारी दिए ।

शर्माले भद्रपुरको वीरेन्द्र नमुना माध्यमिकको सभाहलमा असार २६ गते नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको औपचारिक कार्यक्रममा उनले एक मिनेटमा ८३ वटा वस्तुको स्मरणको प्रस्तुति गरेका थिए ।

औपचारिक कार्यक्रममा गरिएको प्रस्तुतिको भिडियोलाई प्रमाणको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइएको र छानविनपछि गिनिजको बेलायत स्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको उनले बताए ।

गिनिज बुकमा नाम लेखाएपछि उनलाई नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सलामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन् ।

उनको जीवनी र सफलताको कथालाई अस्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीले सन् २०२० मा आफ्नो आधिकारिक ब्लगमा सम्मानज कभरेज दिएको थियो भने कक्षा ५ को सामान्य ज्ञान पुस्तकमा शर्माको जीवन प्रकाशित छ ।

२०४६ साल माघ २३ गते पिता मोहनप्रसाद कट्टेल र माता खिना शर्माको सन्तानको रुपमा झापाको भद्रपुर नगरपालिका वडा नं. ८ मा उनको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्