विराटनगरमा ट्रान्सफर्मर थप्नै सकस, नियमित बिद्युत खोज्छन् तर ट्रान्सफर्मर राख्ने ठाउँ दिदैनन् महानगरवासी

विराटनगरमा ट्रान्सफर्मर थप्नै सकस, नियमित बिद्युत खोज्छन् तर ट्रान्सफर्मर राख्ने ठाउँ दिदैनन् महानगरवासी

विराटनगर । प्रसारण केन्द्रमा प्रशस्त बिद्युत भार बढेपनि संरचना अभावले वितरण समस्याका कारण विराटनगर महानगरपालिका क्षेत्रमा दैनिक जस्तो आपूर्ति प्रणालीमा अवरोध हुँदै आएको छ । दैनिक ८० मेघावाट ‘पिक डिमाण्ड’ बिद्युतको वितरण प्रणालीका लागि संरचना अभाव हुन थालेको हो ।

जसका कारण विराटनगर महानगरपालिकामा पछिल्लो समय बिद्युत आपूर्ति प्रणालीमा बारम्बार अवरोधको समस्या दोहोरिने गरेको छ । त्यसको कारण भने उपभोक्ता आफैं भएको नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका सूचना अधिकृत भरत केसीको दावी छ ।
वितरण केन्द्रले चारवटा सव–स्टेशनबाट २५ ग्रिडमार्फत बिद्युत आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । त्यसका लागि आवश्यक पर्ने ट्रान्सफर्मरको संख्या बढाउन भने सकस पर्ने गरेको अधिकृत केसीको भनाई छ । ‘लोड सेन्टर’ पारेर राखिनु पर्ने ट्रान्सफर्मरका लागि विराटनगरवासीले ठाउँनै दिदैैनन्, केसीले भन्नुभयो–विराटनगर १६ मा बिद्युत आपूर्ति प्रणाली नियमित बनाउन ट्रान्सफर्मर थप गर्न खोज्दा कसैले ठाउँ दिएनन् ।

विराटनगर १६ का वडा अध्यक्ष आफैंले ट्रान्सफर्मर माग गरे अनुसार प्राधिकरणले राख्न खोजेको थियो । तर, त्यहाँ स्थानीयले अवरोध गरेपछि बिद्युत भार मिलाउन नसकिएको केसीले बताउनुभयो । ओभरलोड ट्रान्सफर्मर परिवर्तन गर्न समेत बिद्युत प्राधिकरणलाई स्थानीयले अवरोध गर्ने गरेका छन् । नियमित बिद्युतको माग गरेपनि त्यसको समाधानमा सहयोगी नबन्दा उपभोक्तासँगै प्राधिकरण आफैं हैरानीमा पर्न थालेका छन् ।
केन्द्र मातहतमा पर्ने सेवा क्षेत्रमा विद्युत लाइन सुधारका लागि २४५ किलोमिटरमा ११ केभीएको नयाँ तार लगाउने र ५६५ वटा पोल थप्ने तयारी गतवर्ष गरिएको थियो । विराटनगर महानगरसहित कटहरी, जहदा, ग्रामथान र बुढीगंगा गाउँपालिकामा ६ सय ट्रान्सफर्मर जडान गर्नुपर्ने हुन्छ । विराटनगर महानगर क्षेत्रमा मात्रै ट्रान्सफर्मरको संख्या ४०० पु¥याउनु पर्ने हुन्छ । गतवर्ष २६ किलोमिटर दुरीमा ११ केभिए विस्तार, ४२.२६ किलोमिटरको बिद्युत सर्किट हुने तारलाई ३० वर्गमिलिमिटर (ओ–थ्री)बाट १०० वर्गमिलिमिटर (डग कन्डक्टर)मा स्तरोन्नती गरिएको छ । महानगर क्षेत्रमा अहिले पनि ट्रान्सफर्मरको संख्या ३०० मात्रै छ ।

विराटनगर वितरण केन्द्र मातहत ७३ हजार ७५४ उपभोक्ता रहेका छन् । विभिन्न १४ प्रकारका उपभोक्तामध्ये एकहजार ४६९ औद्योगिक ग्राहक रहेका छन् । यसका लागि महानगरमा ट्रान्सफर्मरको संख्या ३०० बाट बृद्धि गरेर ४०० र त्यस बाहेक कटहरी, ग्रामथान, बुढिगंगामा १७० बाट बृद्धि गरेर २०० पु¥याउनु पर्ने आवश्यकता छ । तर, महानगर भन्दा बाहिरको सेवा क्षेत्रमा ट्रान्सफर्मर राख्न समस्या नभएपनि महानगरमा तत्काल थपिहाल्नुपर्ने २५ ट्रान्सफर्मरका लागि प्राधिकरणलाई सकस परिरहेको छ ।

बिद्युत भारवहन क्षमता बृद्धि गर्दै सर्किट विस्तार गर्ने कामसँगै त्यसलाई व्यवस्थापन गर्ने ट्रान्सफर्मरको ‘अपग्रेड’ र संख्या बृद्धि गर्नुपर्ने काम नै अवरोध भएपछि भएको बिद्युत उपयोगमा समेत समस्या झेल्नु परिरहेको छ । अधिकृत केसीले पछिल्लो समय टंकी सव–स्टेशनको मर्मतपछि समस्या आएकोले थप जटिलता देखिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्