नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने

काठमाडौँ

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने भएको छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने जानकारी दिनुभयो । पार्टीले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडा स्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो ।

पार्टीका सहमहामन्त्री महतले क्रियाशील सदस्यताको विवरण गाउँ तहसम्म पु¥याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्ने लगायतका कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव नदेखिएको बताउनुभयो ।

केन्द्रीय अधिवेशन नसर्ने

पार्टीको केन्द्रीय अधिवेशनको कार्यतालिका भने हेरफेर नगर्ने तयारी छ । पूर्वनिर्धारित समयमा अधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण केन्द्रीय महाधिवेशन भने नसर्ने उहाँले स्पष्ट गर्नुभयो । पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ । कोरोनाको जोखिमका कारण देखाएर केही समय महाधिवेशन पर सार्न सकिने सम्भावना भए पनि निर्धारित समयमै अधिवेशन सम्पन्न गर्ने नै अहिलेसम्मको तयारी रहेको जानकारी नेताहरूले दिएका छन् । यस विषयमा निर्णय गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ ।

पार्टीका नेताहरूका अनुसार महाधिवेशनको पूर्वनिर्धारित समयतालिकामा पुनर्विचार गर्ने विषयमा नेताहरूका बीचमा कुराकानी भइरहेको छ तर महाधिवेशन सार्नुपर्छ भन्ने कुरा कसरी प्रस्ताव गर्ने भन्नेमा समस्या भएका कारण यसले औपचारिकता पाउन सकेको छैन । खासगरी स्थानीय तहको निर्वाचन अघि पार्टीमा धुव्रीकरण बढ्न सक्ने भएकोले महाधिवेशन रोक्नुपर्ने सुझाव नेताहरूले सभापति देउवालाई दिएका छन् ।

केन्द्रीय सदस्य सुजाता कोइराला स्थानीय तहको मुखैमा पार्टीको महाधिवेशन हुँदा कार्यकर्तामा मनमुटाव हुने कुरालाई नकार्न नसकिने बताउनुहुन्छ तर महाधिवेशन सार्दा आफूमाथि महाधिवेशन निर्धारित समयमा नगरेको भन्ने आरोप लाग्ने भएकोले यसमा सभापति देउवा निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने अडानमा हुनुहुन्छ ।

भौतिक रूपमा पार्टीको महाधिवेशन गर्न समस्या हुने आकलनपछि १४औंँ महाधिवेशन डिजिटल भोटिङको उपयोग गर्न सकिने विकल्प अगाडि सारिएको छ । जिल्ला तहसम्मको अधिवेशन भौतिक उपस्थितिमा गर्ने वातावरण बन्न सके प्रदेश र केन्द्रीय महाधिवेशनलाई डिजिटल भोटिङ उपयोग गर्न सकिने सम्भावना औँल्याइएको छ । पार्टीको केन्द्रीय समितिले नीतिगत निर्णय गरेको अवस्थामा यो प्रविधि तयारी अवस्थामा रहेको जानकारी पार्टीको सूचना सञ्चार तथा प्रविधि विभागले दिएको छ ।

यसैबीच पार्टी १४आँै महाधिवेशनको तयारीमा जुटेका बेला केही जिल्ला कार्यकर्ता भने पार्टीको केन्द्रीय कार्यालयमा धर्ना, अनशन जारी राखेका छन् ।
-गोरखापत्र अनलाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्