प्रदेश १ मा ५० वर्षमाथिका नागरिकलाई आगामी साता खोप लगाईने

प्रदेश १ मा ५० वर्षमाथिका नागरिकलाई आगामी साता खोप लगाईने

विराटनगर । प्रदेश १ का सबै स्थानीय तहहरुमा आगामी साताबाट कोरोना विरुद्धको खोप लगाईने भएको छ । संघीय सरकारले अमेरिकी सहयोगमा प्राप्त गरेको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप र चीनमा उत्पादित भेरोसेल खोप प्रदेश १ मा लगाइने भएको हो ।

सरकारले यी दुवै खोप ल्याउने तयारी गरिरहेको छ । दुई दिनभित्र खोप प्राप्त आईसक्ने र त्यसपछि सबै जिल्लामा खोप पठाएर लगाउन थालिने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यस अघि दुई चरणमा सञ्चालित कोरोना विरुद्धको खोप अभियानमा ६० वर्ष माथि उमेर समूहका नागरिकहरुले खोप लगाइसकेका छन् । अर्को साताबाट ५५ वर्षदेखि माथि ५९ वर्ष उमेरसम्मका व्यक्तिहरुलाई चिनीयाँ भेरोसेल खोप लगाउने तयारी रहेको छ । अहिलेसम्म कति मात्रा खोप आउँछ भन्ने निर्णय भइसकेको छैन, सकेसम्म ती उमेर समूहका लागि र केही अग्रपंक्तिमा छुटेका समूहका लागि पुग्ने गरी खोप आउने अपेक्षा राखिएको छ ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयले ५५ वर्षदेखि माथिका उमेर समूहका लागि लगाउन ३ लाख ३८ हजार १६९ डोज खोप आवश्यक पर्ने जनाएको छ । यस्तै ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउन जोन्सनको २ लाख १० हजार ५६८ डोज खोप आवश्यक पर्ने अनुमान गरी माग गरिएको जनाएको छ ।

प्रदेशमा प्राप्त भएको खोप जिल्लाहरुमा पठाउन करिव दुई दिन लाग्ने छ । त्यसपछि स्थानीय तहहरुमा पठाएर खोप लगाउन सुरु गरिने छ ।
कोरोना महामारी नियन्त्रणमा नआएपछि सर्वसाधारणहरु खोपको तिब्र प्रतीक्षामा छन् । काठमाण्डौमा जोन्सन र भेरोसेल खोपहरु धमाधम लगाउने कार्य जारी रहेपछि सर्वसाधारणले खोप कहिले आउँछ भन्ने प्रश्न गर्दै स्थानीय जनप्रतिनिधि र सरकारका स्वास्थ्य कर्मचारीहरुलाई ताकेता गर्न थालेका हुन् ।

सरकारले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये यस अघि नै ८ लाख डोज खोप काठमाण्डौमा आइसकेको छ । थप ८ लाख डोज खोप समेत आएको छ । प्रदेश १ मा अहिलेसम्म ३ लाख ७७ हजार ४४९ जनाले कोभिसिल्ड र भेरोसेलको पहिलो मात्रा खोप लगाएका छन् भने ९९ हजार ७४४ जनाले कोभिसिल्ड र भेरोसिल्डको दोश्रो खोप लगाइसकेका छन् ।
सरकारले माग बमोजिम प्रदेश १ मा जोन्सनको खोप पठाएको खण्डमा २ लाख १० हजारले पूर्ण खोप पाउने छन् । जोन्सनको खोप एक मात्रा मात्र लगाउनु पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्