मोरङमा फेरी बढ्यो कोरोना संक्रमण, सावधानीका उपाय अवलम्बनमा कडाई

<span class='c1'>मोरङमा फेरी बढ्यो कोरोना संक्रमण,</span> <span class='c2'>सावधानीका उपाय अवलम्बनमा कडाई</span>

विराटनगर । पछिल्ला तीनदिन मोरङमा कोरोना संक्रमण दैनिक १०० भन्दा बढीको संख्यालाई देखिदैं आएको छ । बिहीबार १३२ जना, शुक्रबार १४७ जना र शनिबार १३५ जनामा संक्रमण देखिएको हो ।

असारको तेस्रो साताबाट निषेधाज्ञा खुकुलो भएसँगै मोरङमा कोरोनाको संक्रमण जोखिम पुनःबढ्दै गएको देखिन्छ । संक्रमणको दर बढ्दै जाँदा यसको असर अस्पतालमा, होमआईसोलेशनमा समेत बिरामीको संख्या थपिने क्रम बढ्दो छ । संक्रमणसँगै मृत्युको संख्यामा समेत केहि फरक स्थिति आउन थालेपनि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञामा केहि कडाई गर्ने निर्णय गरेको छ ।

गत शुक्रबारदेखि नै साँझ ६ बजेसम्म मात्रै बजार पसल खुल्ला रहने र ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल रोक्ने निर्णय गरिएको थियो । दुई हजार भन्दा धेरैको संख्यामा अहिले जिल्लाभर सक्रिय संक्रमित रहेका छन् । असारको तेस्रो साता यो संख्या ३०० मात्रै थियो । चाँडै नै २ हजार ३१६ जना संक्रमितको संख्या पुगेपछि निषेधाज्ञामा केहि परिमार्जन गरिएको हो । सीमा वारपारमा पनि निगरानी बढाइएको दावी गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी सीमा क्षेत्रमा मानिसको आवतजावतमै रोक लगाइएको भनिएपनि कतिपयले रातभर तस्करी चल्ने गरेको भन्दै प्रशासनको आलोचना गरेका छन् ।

यस अगाडी समेत कोरोना संक्रमणको जोखिमका कारण सीमा बन्द गराएर तस्करीको लाइन चलाउने गरिएको आरोप स्थानीयले लगाउने गरेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संस्थागत तस्करीको पुष्टि जेठ अन्तिममा सुनसरीबाट स्याउ तस्करी प्रकरणले गरेको थियो ।
पछिल्लो समय मोरङको नेपाल–भारत सीमा नाकाहरुमा प्रहरी परिचालन गरी विशेष कामबाहेक नेपालीलाई भारत प्रवेश गर्ने र भारतीयलाई नेपाल प्रवेशमा पूर्ण रोक लगाइएको दावी छ । भारतीयहरुलाई नेपाल प्रवेश गर्न पीसीआर परीक्षण रिपोर्टलाई अनिवार्य गरिएको छ । पीसीआर परीक्षण गरेको रिपोर्ट नभए वा पीसीआर परीक्षण गरेको ७२ घण्टाभन्दा बढी भएमा नाकामै त्यस्ता व्यक्तिको एन्टिजेन परीक्षण गरेरमात्र नेपाल प्रवेशको अनुमति दिने व्यवस्था मिलाइएको छ ।

विराटनगर महानगरपालिकाले रानीमा मेडिकल अधिकृतको नेतृत्वमा चिकित्सकको टोली परिचालन गरी भारतबाट आउने नागरिकहरूको स्वास्थ्य परीक्षण एवं एन्टिजेन परीक्षण गर्दै आएको छ । रानी नाकामा रहेको हेल्थ डेस्कका इन्चार्ज एवं मेडिकल अधिकृत डा. कमलकिशोर यादवका अनुसार नेपाल प्रवेश गर्ने भारतीय नागरिकहरुको पूर्ण परिचय खुल्ने लगत राख्ने गरिएको छ ।
गत वैशाखदेखि साउन ९ गतेसम्म सो नाकाबाट २ हजार २२३ जना भारतीय नागरिक नेपाल प्रवेश गरेका थिए । जसमा ८३ जनाको एन्टिजेन परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरूलाई भारतीय प्रहरीको समन्वयमा भारत फर्काइएको थियो । साउन लागेपछि दैनिक २५ देखि ३० जना भारतीय नागरिक नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरुमध्ये धेरैजसो मोरङ र सुनसरीका विभिन्न उद्योगमा काम गर्ने सिलसिलामा तथा कतिपय भने मेडिकल कलेजमा अध्ययनका लागि नेपाल आएका हुन् ।

मोरङ जिल्लाका साथै जिल्ला बाहिरपनि कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै विभिन्न अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । दैनिक रुपमा थपिने संक्रमितका कारण कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेको हो ।
विराटनगरमा सरकारीस्तरमा कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पताल र कोशी कोभिड –१९ उपचार केन्द्र गरी दुई अस्पताल हाल सञ्चालनमा छन् । ती अस्पतालमा पछिल्ला दिन बिरामीको चाप बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।
कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ३२ जना कोरोना संक्रमित उपचाररत छन् । कुल ६० शय्याको कोभिड युनिटमा १० दिन अघिसम्म जम्मा १३ जना संक्रमित थिए ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दासले कोरोनाको जोखिम फेरि बढ्दै गएको संक्रमितहरु अस्पताल भर्ना हुने क्रम बढेको बताउनुभयो । त्यसैगरी कोशी कोभिड–१९ उपचार केन्द्रमा ७६ जना विरामी उपचार गराइरहेका छन् । डेढ साता अघि सो अस्पतालमा बिरामीको संख्या घटेर ३२ जनामा सीमित थियो । हाल दैनिक बिरामी थपिने क्रम बढेको अस्पतालका व्यवस्थापक बैजनाथ साहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्