विराटनगर । कोशी अस्पताल विराटनगरमा नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ । अमेरिकन–नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिेटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार एक करोड ७ लाखको लागतमा प्रतिदिन ९० देखि ११० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना भएको हो । प्लान्ट निर्माणसँगै अक्सिजन आपूर्ति प्रणालीको लागि पाइप जडानको काम सकिएको मेसु दासले जानकारी दिनुभयो ।
प्लान्टमा उत्पादन भएको अक्सिजन आवश्यकता अनुसार वितरणको प्रणालीमा परीक्षण भईरहेकोले दुईदिन भित्रै सञ्चालनमा ल्याईनेछ । यहाँबाट उत्पादन भएको अक्सिजन कोभिड ब्लक, आईसीयू, आकस्मिक, मेडिकल, अप्रेशन थिएटर र डायलासिस कक्षमा प्रयोग गरिने भएको छ ।
वीर अस्पतालमा समेत यस्तै अक्सिजन प्लान्ट स्थापना गरिएको छ । त्यहि स्वरुपको अक्सिजन प्लान्ट कोशी अस्पतालले समेत पाएको मेसु दासको दावी छ । एकै प्रारुपको अक्सिजन प्लान्ट हो, मेसु दासले भन्नुभयो–पूर्वका लागि कोशीमा अक्सिजन प्लान्ट स्थापनाले धेरै सहज हुनेछ ।
डाइग्नोकेम इन्टरनेशनले प्लान्ट जडानको काम गरेको हो । कम्पनिका इन्जिनियर बिजन अर्यालका अनुसार जर्मन र स्लोभाकियामा उत्पादन भएको कम्प्रेसर ड्रायर र अक्सिजन जेनेरेटर जडान भएका छन् । आधुनिक मेशिनको क्षमता ५०० लिटर प्रतिमिनेट रहेको उहाँको दावी छ ।
अस्पतालमा अक्सिजन प्लान्ट जडान भएसँगै सिलिण्डरको झन्झट कम हुने विश्वास राखिएको छ । मेसु दासका अनुसार अहिले अस्पतालमा ३५० अक्सिजन सिलिण्डर प्रयोगमा रहेका छन् । अब स्वचालित अक्सिजन आपूर्ति प्रणाली जडानसँगै कोशी अक्सिजनमा आत्मानिर्भर हुने विश्वास रहेको मेसु दासले बताउनुभयो ।
अस्पताल विकास समितिका सदस्य देवा यादवले कोरोना संक्रमणको संभावित तेस्रो लहरको जोखिमबाट नागरिकको स्वास्थ्य सुरक्षाका लागि अक्सिजन प्लान्ट स्थापनाले राहत हुने बताउनुभयो । समयमै ‘स्टलेशन’को काम सम्पन्न भएकोले बिहीबारदेखि यसलाई पूर्ण क्षमतामा सञ्चालन गरिने भएको उहाँले बताउनुभयो ।