सुन्दरहरैंचामा सुन पसल लुट्ने असफल योजनाका संलग्न ६ जना पक्राउ

सुन्दरहरैंचामा सुन पसल लुट्ने असफल योजनाका संलग्न ६ जना पक्राउ

विराटनगर । अत्याधुनिक एसएमजीसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–१० त्रिवेणीचौकमा सुन पसल लुट्ने असफल योजना पूर्व नेपाली सेनाका सैनिक र पूर्व माओवादीले बनाएको खुलेको छ । गत साउन १ गते खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा हतियारसहित आएका सातजनामध्ये मोरङ प्रहरीले ६ लाई नियन्त्रणमा लिई आज सार्वजानिक गरेको हो ।

घटना भएको अघिल्लो दिन असार ३१ गते नै उनीहरुले सुन पसल लट्ने योजना बनाएको समेत खुलेको छ । तर, त्यस दिन उनीहरुले त्यस क्षेत्रमा अनुकुल स्थिति नदेखेपछि फर्केको मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो ।
फौजी तालिम लिएकाहरुले बनाएको योजना अनुसार सुन पसलमा सुरुमा पूर्व सैनिक चन्द्रबहादुर राई र पूर्व माओवादी डाईमण्ड भन्ने प्रमोद चौधरी प्रवेश गरेका थिए । एसएमजीसहित प्रवेश गरेका उनीहरु पसल भित्र छिरेपछि बाहिरी पेरिफेरीमा चारजनाले ‘रेकी’ गरेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।

दुईजना पसलमा प्रवेश गरेपछि सहयोगका लागि आएका अर्का एकजना भने पसलको प्रवेशद्वारसम्म आएपछि अटोमेटिक पेस्तोल झिक्दै बाहिरिएको देखिन्छ । उनलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
प्रहरीले घटनामा संलग्न भएकामध्ये पूर्व सैनिक संखुवासभा सभापोखरी–४ घर भई हाल इटहरी–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीक गढी गाउँपालिका–१ का डाईमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बाह्रबिसे गाउँपालिका–६ घर भई हाल इटहरी–२० तरहरा बस्ने चिरञ्जिवि राई, सुन्दरहरैंचा–५ का २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्मा–३ घर भई इटहरी–२० बस्ने ३० वर्षीय नगेन्द्र राई र सुन्दरहरैंचा–७ का ३१ वर्षीय सन्तोष राईलाई नियन्त्रणमा लिएर सार्वजानिक गरेको छ ।


उनीहरुलाई आज बिहान ३ बजे नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो । उनीहरु तीनवटा मोटरसाइकलमा असार ३१ गते आएका थिए । तर लुटपाट गर्न नसकेपछि बुढी खोलाको बाटो हुँदै इटहरी तरहरा फर्केका थिए । साथमा रहेको हतियार नमुना सामुदायिक वनमा रहेको एउटा रुखको टड्कोमा लुकाएको उपरीक्षक जिसीले जानकारी दिनुभयो ।
पुनः साउन १ गते दिउँसो १ः१४ मिनेट जाँदा उनीहरु सुन पसलमा आएका थिए । तीमध्ये राईले एसएमजी र चौधरीले कटुवा पेस्तोलसहित सुन पेलमा प्रवेश गरेको सिसी क्यामेरा फुजेटमा देखिन्छ । प्रहरीले सुन्दरहरैंचा–५ नमुना सामुदायिक वनमा रहेको धोद्रो परेको करमको रुखको टड्को भित्र लुकाई राखेको अवस्थामा हतियार बरामद गरेको थियो । धोद्रो परेको रुख भित्र टेपले बाँधेर हतियार लुकाएका उनीहरु पसल लुटट्ने असफल प्रयासपछि तरहरा फर्केर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले उनीहरुले प्रयोग गरेको एसएमजी, यसको म्याग्जिन, ६२ राउण्ड गोली, कतुवा पेस्तोल, एटोमेटिक पेस्तोल, म्याग्जिन र २ राउण्ड गोली, थ्रिनटथ्री राईफलको चार राउण्ड गोली र लुटेरा समूहले प्रयोग गर्ने एमपीआर लेखेको २ थान सञ्चार सेट समेत बरामद गरेको छ ।
लुटपाटका लागि प्रयोग भएको को २ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प् ६७०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी विभिन्न ब्राण्डका ८ थान मोवायल समेत बरामद गरिएको उपरीक्षक जिसीले जानकारी दिनुभयो ।

उनीहरु विरुद्ध लुटपाट, हातहतियार खरखजना र योजनावद्ध समूह बनाएर लुटपाटमा संलग्न देखिएकोले संगठित अपराधमा समेत अनुसन्धान गर्ने गरिने भएको छ । आफ्नै सञ्चार सेट प्रयोग गरेको पाइएका कारण समेत उनीहरुले समूहमा योजना बनाएर लुटपाट गर्ने गरेको आशंका गरिएको छ । प्रहरीले घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धानको रिपोर्टसहित आज पक्राउ परेका ६ जनालाई सार्वजानिक गरेको छ भने उनीहरु विरुद्ध जिल्ला अदालत मोरङबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्