विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा आफ्ना समर्थक र ईच्छाएका व्यक्तिलाई महानरपालिकाको सभापति निर्वाचित गराउन राज्यको स्रोत दुरुपयोग गरेको भन्दै पार्टी भित्रै चौतर्फी आलोचना भएको छ । आसन्न महानगरपालिकाको अधिवेशनमा पराजुलीले समर्थन गरेका उमेद्वार अरुण न्यौपानेलाई विजयी बनाउन महानगरका आम नागरिकका लागि राज्यले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप दुरुपयोग गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।
आफ्ना समर्थकलाई बोलाएर विराटनगर–५ का बुथ सभापति विमल राजभण्डारीको घरमा बुधबार राती ९ बजे सुटुक्क खोप लगाईरहेको थाहा पाएपछि स्थानीयले अवरोध गरेका थिए । त्यसपछि मेयर पराजुली त्यहाँबाट भागेपनि त्यस प्रकरणमा पराजुली विरुद्ध चौतर्फी आलोचना भईरहेको छ ।
आसन्न अधिवेशनमा महानगरका सभापति अरुण न्यौपाने समेतको उपस्थितिमा व्यक्तिका घरमा भेरोसिल खोप लगाउने कार्यक्रम तय गरिएको थियो । न्यौपानेको कमजोर आधार रहेको वडा नम्बर ५ का मतदाता फकाउन आम नागरिकका लागि आएको खोप मेयर पराजुलीले दुरुपयोग गरेको काँग्रेस महानगरका नेता दिपक चापागाँईको टिप्पणी छ । उनका अनुसार टोलका करिब ३० जना समर्थकले खोप लगाईसकेपछि स्थानीयले पराजुलीका विरुद्ध आवाज उठाएका थिए । कतिपयले ढुंगा समेत हान्न थालेपछि पराजुली फरार भएको दावी चापाँगाईको छ । अधिवेशन लाग्यो भने महानगरको स्रोत पार्टी भित्रका खास व्यक्तिको नाममा दुरुपयोग गर्न मिल्दैन, युवा नेता चापागाँईले भन्नुभयो–धेरै अगाडीदेखि यस्तो प्रवृत्ति मेयरमा देखिदै आएको छ ।
खोप प्रकरणमा नेपाली काँग्रेसको अधिवेशन ‘कनेक्सन’ रहेको स्वयम् मेयर पराजुलीको बुझाई छ । तर, पराजुलीले बिमल राजभण्डारीको घरमा खोप कार्यक्रम नै नभएको भन्दै आफ्नो नियोजित ढंगबाट बद्नाम गर्न खोजिएको जिकीर गर्नुभयो । अधिवेशन लाग्यो भनेर जथाभावी बद्नाम गराउने काम भयो, मेयर पराजुलीले भन्नुभयो–म त्यहाँ थिइन, भएको कतै प्रमाण पनि छैन । खोप समेत त्यहाँ नलगाइएको भन्दै आफ्ना विरुद्धको आरोप औपचारिक रुपमै खण्डन गर्ने पराजुलीले बताउनुभयो ।
काँग्रेस भित्र अधिवेशन तयारीमा प्रतिस्प्रर्धीलाई हराउने योजनासहित मेयर पराजुलीले यस्तो कर्म गरेको आरोप लागेको छ । यस प्रकरणमा अन्य पार्टीका नेताहरुले समेत चौतर्फी विरोध गर्दै प्रतिक्रिया जनाईरुहेका छन् । नेकपा एमाले महानगर समिति अध्यक्ष सागर थापाले समग्र महानगरवासीकै बद्नाम गराउने काम मेयर पराजुलीले गरेको बताउनुभयो । उहाँले युवा नेतृत्वको काँधमा रहेको महानगरमा गलत कामको चाङ्ग बढ्नु दुःखद् भएको बताउनुभयो । अध्यक्ष थापाले राज्यले आम नागरिकका लागि ल्याएको खोप मेयरले छानीछानी लगाउने काम गर्नु नाजायज भएको प्रतिक्रिया दिनुभयो ।
यसैगरी नेकपा माओवादी केन्द्रका नेता भोगेन्द्र यादवले काँग्रेसी चिन्तन मात्रैले ग्रस्त बनेका मेयरले महानगरवासीमा विभेद गरेको प्रतिक्रिया जनाउनु भएको छ । आफ्नो फेसबुक पेजमा धारणा लेख्दै मेयरले साझा जिम्मेवारी र दायित्व निर्वाह नगरेको यादवले बताउनु भएको हो ।
राती दुईसय डोज खोपसहित त्यहाँ पुगेको टोलिले ३० जनालाई खोप लगाएपछि बाँकी खोप फिर्ता भएको थियो । अवरोध गर्नेहरुले खोप समेत नियन्त्रणमा लिएका थिए । पछि त्यहि भेला भएकामध्येहरुले खोपको बाकस विरोध गर्नेहरुको बीचबाटै झुक्याएर फिर्ता पठाएका थिए । नेपाली काँग्रेसको आसन्न महानगर सभापतिका उमेद्वारमध्ये मेयर पराजुलीले अरुण न्यौपानेलाई अगाडी सार्नु भएको छ । त्यस बाहेकका उमेद्वार दिपक चापागाँई, सन्तोष न्यौपाने, कृष्ण कार्की, प्रकाश दाहाललगायत रहनु भएको छ । तर, राज्यको स्रोत दुरुपयोग गरेर काँग्रेस महानगरको अधिवेशनमा मतदाता प्रभावित बनाउने काम भएको भन्दै आन्तरिक पार्टी भित्रै चौतर्फी विरोध सुरु भएको छ ।