विराटनगर । खोपमा अनियमितता गरेको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरूद्ध प्रदर्शन गरिएको छ। उनका विरुद्ध नाराबाजी गर्दै युवाहरुको एक समूहले प्रदर्शन गरेको हो ।
बुधवार राति व्यक्तिका घरमा सुटुक्क खोप लगाउन आफ्ना समर्थक कार्यकर्तालाई बोलाएको सूचना बाहिरीएपछि मेयर पराजुली विरुद्ध सर्वत्र आलोचना भईरहेको छ । प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराउन माग गर्दै हाम्रो खोप खोई ? भनेर प्रश्न गरेका थिए ।
बुधवार राति विराटनगरको मुनाल पथमा स्थानीय काङ्ग्रेसी विमल राजभण्डारीका घरमा सुटुक्क भेरोसेल खोप दिइरहेको चाल पाएपछि स्थानीय युवा र महिलाले मेयर पराजुली र उनको समूहलाई खेदेका थिए । त्यसको चौतर्फी विरोध भईरहेका बेला महानगरको भवन अगाडी आम नागरिकको नैसर्गिक अधिकार अन्तर्गत खोप लगाउन पाउनु पर्ने भन्दै गलत क्रियाकलापको भण्डाफोर गरिएको छ ।