वाग्मती
वाग्मती प्रदेश सरकारले कार्यान्वनमा ल्याएको युवा वैज्ञानिक नवप्रवद्र्धन परियोजनामा युवाको आकर्षण वृद्धि भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले ‘युवा वैज्ञानिक प्रोत्साहन कोष (स्थापना र सञ्चालन)कार्यविधि, २०७५’ जारी गरेको थियो । परियोजना अन्तर्गत फरक र पृथक शैलीका पाँच विभिन्न परियोजनाले प्रारम्भिक प्रगति हासिल गरेको जनाइएको छ ।
युवा वैज्ञानिकको समुहबाट पुराना गाडीको पेट्रोलियम इञ्जिन विस्थापित गरी विद्युतीय उपकरण जडान गर्ने , दाँतको प्रत्यारोपण गर्ने , थौरै स्थानमा धेरै माछापालनको गर्ने र उच्च पहाडी क्षेत्रमा पाइने च्याउको बीउ उत्पादन गर्ने विधिलगायतका परियोजना कार्यान्वयको चरणमा छ ।
मन्त्रालयमा पेश गरी छनोट भएका प्रस्तावित परियोजनालाई सम्पन्न गर्न अनुदान दिइने गरिन्छ । कार्यान्वयनमा रहेका सबै परियोजनाबाट प्रारम्भिक उपलब्धि हासिल भएको युवा तथा खेलकूद महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिनुभयो ।
प्रदेशभित्र कृषि, उद्योग, पर्यटन, जलवायु तथा वातावरण, जैविक विविधता, जनस्वास्थ्य, जीव प्रविधि, सूचना प्रविधि, इञ्जिनीयरिङ, यातायात, नवीकरणीय ऊर्जा, विद्युत्–सङ्ग्रह जस्ता क्षेत्रमा उत्पादन, उत्पादकत्व वृद्धि गर्न सहयोग प्रदान गरिने कोषले जनाएको छ । यसैगरी मानवीय–जीवन–पद्धतिलाई सरल तथा सहज बनाउन नयाँ ज्ञान तथा प्रविधि अनुसन्धान, विकास र व्यावसायिक उपयोग गर्न प्रतिभाशाली नवप्रवर्तक वा नवप्रवर्तक कम्पनीलाई आर्थिक सहयोग तथा वस्तुगत अनुदान उपलब्ध गराउने कोषको उद्देश्य छ ।
कोषका अध्यक्षमा सामाजिक विकासमन्त्री, सदस्य सचिवमा मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका प्रमुख रहने प्रावधान रहेको छ भने कोषको सदस्यमा मन्त्रालयका सचिवसहित प्रदेशमा स्थायी बसोबास भएका लब्ध प्रतिष्ठित व्यक्तिमध्येबाट एक जना महिलासहित अन्य दुई जना सदस्य मन्त्रालयले मनोनीत गरेको व्यक्ति रहने व्यवस्था छ ।
परियोजनाको हालसम्म भएको उपलब्धिबारे हालै मुख्यमन्त्री डोरमणि पौडेललेसमेत जानकारी लिनुभएको छ । युवा वैज्ञानिकको पाँच समूहले विभिन्न क्षेत्रमा खोजमूलक र प्रविधिमूलक परियोजना कार्यान्वयन गरेको छ ।
सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र राज्यमन्त्री डा रामकुमार अधिकारीले युवा वैज्ञानिकको पहिचानका लागि सरकार लागिपर्ने बताउनुभयो ।
युवा वैज्ञानिक वसन्त आलेले आफ्नो समूहले चितवन राष्ट्रिय निकुञ्जमा प्रयोग गरिने गाडीको पेट्रोलियम इन्जिन हटाइ विद्युतीय जीपमा परिणत गराउन सफलता मिल्दै गएको जानकारी दिनुभयो । वैज्ञानिक भुवन गुरुङले आफ्नो समूहले वनस्पतिमा पाइने रसायनको अनुसन्धान गरिरहेको बताउनुभयो । अर्का युवा वैज्ञानिक रोजिना थापाले माछा पाल्ने बायोफ्ङ्गल प्रविधिमा प्रयोग हुने जिवाणु एक प्रकारको ब्याक्टेरिया स्वदेशमै उत्पादन गर्न सफलता प्राप्त भएको दाबी गर्नुभयो ।
उहाँले उक्त ब्याक्टेरियाको प्रयोगबाट माछापालन गर्दा दानाको प्रयोेग गर्नु नपर्ने गरी अध्ययन अगाडि बढाइएको जानकारी दिनुभयो । अत्यन्तै महँगो मूल्यमा विदेशबाट आयात गर्नुपर्ने ब्याक्टेरिया स्वदेशमै उत्पादन गर्नसके माछापालक किसानको उत्पादन लागत कम हुने उहाँले बताउनुभयो ।
यसैगरी युवा वैज्ञानिक चिकित्सक पराक्रम पराजुलीले दाँतको प्रत्यारोपण गर्ने नयाँ विधि पत्ता लगाएको दाबी गर्नुभयो । उहाँका अनुसार हाल विश्वमा दाँत प्रत्यारोपण गर्ने दुई प्रविधि मात्र रहेकामा आफूहरुले तेस्रो प्रविधि पत्ता लगाएको र यो प्रविधि अत्यन्तै सस्तो रहेको जानकारी दिनुभयो ।