टीकापुर, कैलाली
कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका एक वृद्धको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर–८ का ७६ वर्षीय नरबहादुर साउदको आज मृत्यु भएको वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले जानकारी दिनुभयो ।
आजबाट वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको र सोही क्रममा भत्ता बुझ्न वडा नम्बर ८ को कार्यालय पुगेका साउद एक्कासि बिरामी भएका थिए । साउदलाई असहज भएपछि उनलाई वडा कार्यालय हाताभित्रै रहेको चौतारामा सुताएको र नजिकै रहेको स्वास्थ्य केन्द्रमा लैजाने क्रममा मृत्यु भएको वडा अध्यक्ष ठकुल्लाले बताउनुभयो । उहाँका अनुसार साउदलाई केही समयदेखि सुगर, प्रेसर लगायतको समस्या रहेको थियो । -रेडियो नेपाल