मेयर पराजुलीलाई ‘शुभचिन्तकको तर्फबाट तितामिठा सुझावहरू’

मेयर पराजुलीलाई ‘शुभचिन्तकको तर्फबाट तितामिठा सुझावहरू’

आदरणीय नगरप्रमुखज्यू,
कथित ‘खोप काण्ड’ मा केही न केही राजनीति घुसेको पक्कै हो। संघारमा पार्टीको चुनाव अनि प्रतिरोध गर्न उर्बर वातावरण भएपछि मौका कसैले पनि गुमाउँदैन ! यस्तै घातप्रतिघातको निष्कर्षले नै त नेता जन्माउने र नेता सिध्याउने रहेछ नि !

तर, एउटा मननयोग्य कुरा गर्नै पर्नै भयो। यदि अहिलेसम्म महानगरले सडकपेटी सफा राख्न सकेको भए, नगरलाई हराभरा बनाउन सकेको भए, ढलको उचित व्यवस्थापन गर्न सकेको भए, गुणस्तरहीन काम गर्ने ठेकेदारहरूको कर्तुतलाई लगाम लगाउन सकेको भए, खाली गरिएका गुद्रीका प्लटहरूमा केही न केही निर्माण हुँदै गरेको भए, महेन्द्र चोक–ट्राफिक चोकबारे देखाइएको मीठो सपना पूरा हुने लक्षण मात्रै पनि देखिएको भए, यो गर्छु भन्दा पनि मैले यो यो गरेँ भन्ने ठाउँ रहेको भए आज तपाईंप्रति उठ्ने विरोधका विरुद्ध विराटनगरबासीहरू नै रक्षा कवच बन्ने थिए । तपाईंको विज्ञप्तिभन्दा ती प्रतिरोधात्मक स्वरहरू नै भरपर्दा हुन्थे । यसरी तपाईंले विज्ञप्ति निकाल्नु पर्ने नै थिएन।

हो, तपाईं अरु नेताभन्दा हजार गुना इमानदार हो, तपाईंले आजपर्यन्त कुनै सेवा सुविधा लिनु भएको छैन। महामारीमा दिनरात घरघर पुगेर सेवा पनि गर्नु भएको छ। मानवीय सहायतामा कसैलाई पक्षपात गर्नु भएको छैन। यदि तपाईंमा थोरै पनि आर्थिक विचलन भएको भए तपाईंलाई सिध्याउन मिडियाले कुनै कसर बाँकी राख्ने थिएन। प्रतिपक्षले त सोझै टाउकामै प्रहार गरिसक्ने थियो। अचेल त प्रतिपक्षको काम पनि आफ्नै पार्टीका आरिसेहरूले जिम्मा लिएका छन्। राजनीतिक दुश्मनहरूको घेराभित्र बस्ने मानिसको सानो कमजोरी पनि हेर्दाहेर्दै तिलबाट पाहाड बनिसक्छ। तपाईंको निस्कलंकित छविको म पनि प्रशंसक हुँ।

तर आज तपाईं जस्तो इमानदार मान्छेले पनि आफ्नो बचाउमा आफैं स्पष्टीकरण दिनुपर्ने अवस्था आएको छ। म जस्तो शुभचिन्तकका लागि योभन्दा ठुलो पीडाबोध अर्को के हुनसक्छ ?
वास्तवमा जनताले तपाईंलाई इमानदार, आध्यात्मिक, नम्र, सहयोगी, निस्पक्ष अनि विकासप्रेमी भनेरै दलगत स्वार्थभन्दा माथि उठेर मत दिएका हुन्। तपाईंले अहिलेसम्म व्यक्तिगत रूपमा घरघरमा पुगेर धेरैको उद्दार र हित पनि गर्नु भएको छ ! तर के महानगरको मेयरले जनसेवा गर्न आफैँ घरघर जाने कार्य व्यवहारिक रूपमा सहज र दिगो भइ रहला र ? तपाईंको यो अभियान राम्रो हुँदाहुँदै पनि यसले दीर्घकालीन विकासका लागि दिनुपर्ने महत्त्वपूर्ण समय तपाईंबाट खोसिदिएको छ। तपाईं व्यक्तिव्यक्तिको खुसीमा रमाइ रहँदा हजारौं मतदाताहरू तपाईंबाट बिस्तारै टाढा हुन पुगेका छन्। यसको लागि तपाईंले आफ्नै मातहतमा एउटा जुझारु टिम बनाएर सेवालाई फराकिलो पार्नु चाहिँ अपरिहार्य देख्दछु। अन्यथा तपाईं नगरबाहिर हुँदा तपाईंको अभावको पूर्ति कसले गर्ला ?

अर्को कुरा महानगरले तत्काल आफ्नो विकास अभियानलाई जनतासँग जोड्ने कार्यको थालनी गर्न जरुरी देखेको छु। यसका लागि उद्योगी, व्यवसायी, पेसाकर्मी अनि सामिजिक अभियन्ताहरू सम्मिलित एउटा सशक्त टिम बनाएर निरन्तर अन्तरक्रिया गर्नु र प्राप्त सुझावका आधारमा अघि बढ्नु राम्रो हुन्छ। यो कार्यले विकासमा देखिएका कमीकमजोरी र समस्याको एक्लो दोष तपाईंले बोकिरहनु पर्दैन। तपाईंका सीमा र बाध्यताको जानकारी सबैले प्राप्त गर्दछन् !
आदरणीय मेयरज्यू,
यसैक्रममा एउटा तितो कुरा पनि गर्न मन लागेको छ। अहिलेसम्म तपाईंको वरिपरि घेरा बनाएर बसेका मानिसहरूबाट तपाईंले केकति सहयोग पाउनु भयो ? यसको पनि गम्भीर समीक्षा गर्नु जरुरी छ। हो मा हो मिलाएर तपाईंलाई खुसी पार्ने चाटुकारहरूभन्दा तपाईंको कमजोरी देखाइदिने छुच्चा मानिसहरू नै तपाईंका सच्चा शुभचिन्तक हुन् भन्ने कुरालाई तपाईंले बुझ्नुपर्छ। बौद्धिक दिवालियापनको रोगले ग्रस्त भएका काँचाकचिला सल्लाहकारको घेराबाट बाहिर आउन सक्दा मात्रै तपाईंको साख माथि उठ्न जान्छ।

अन्त्यमा मेरो विनम्र आग्रह छ, तपाईं पार्टीका गुटगत झोलेहरूको भन्दा पनि सारा नगरबासीको आशाको केन्द्र भएर नै विजयी हुनुभएको हो। कांग्रेसलाई विश्वास नगर्नेहरूले पनि तपाईंलाई ठुलो विश्वास गरेका थिए। चरम अन्तर्घात हुँदा पनि अत्यधिक मत तपाईंले पाउनु भएको हो ! तपाईंले नै जनविश्वास गुमाउनु भयो भने युवापुस्ताप्रति नै जनजनमा विकर्षण पैदा हुनसक्छ। अब काम गर्ने समय धेरै छैन र समयले कसैलाई पर्खिने पनि होइन ! मैले पार्टीगत आस्थाका आधारमा तपाईंलाई यो अनुरोध गरेको पनि होइन। तपाईंको ठाउँमा जोसुकै इमानदार व्यक्ति भएको भएपनि मैले आफ्नो कर्तव्य पूरा गर्ने थिएँ !

मेरो हार्दिक आग्रह छ तपाईं आजैदेखि नितीगत कुरामा आफूलाई केन्द्रित गर्नुहोस्। हरेक दिन ४–५ घन्टा नगरविकासको बारेमा मात्रै छलफल गर्नुहोस्। झिनामसिना काममा आफूलाई व्यस्त नराख्नुहोस्। जहाँ पनि आफैं पुग्ने होइन समस्या आए प्रतिनिधि पठाएर समाधान दिनुहोस्। मुस्किलले बचेको एक बर्षले तपाईंको पुरानो छविमा विकासको झल्झलाकार लेपन लगाएर सुसज्जित पारेको सारा नगरबासीले देख्न पाऊन् ।
हार्दिक शुभकामना !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्