कोशीको रेडियोलोजी विभाग चिकित्सकबिहीन, सेवा नपाएपछि सेवाग्राही आन्दोलित

कोशीको रेडियोलोजी विभाग चिकित्सकबिहीन, सेवा नपाएपछि सेवाग्राही आन्दोलित

विराटनगर । कोशी अस्पताल विराटनगरको रेडियोलोजी विभाग जनशक्तिविहीन हुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ । दरबन्दी अनुसार रेडियोलोजिष्ट नहुँदा अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीले रेडियोलोजी सेवाबाट बन्चित हुनु परेको हो ।

सरकारी अस्पतालमा सेवा लिन आएका सेवाग्राहीले सोमबार सुविधा नपाएको भन्दै अस्पताल प्रशासन कार्यालय अगाडी आन्दोलनमा उत्रनु परेको थियो । कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवका अनुसार एकजना एघारौं तह र दुईजना नवौं तहका रेडियोलोजिष्टको दरबन्दी कोशीमा छ । तर, संघ अन्तर्गतको दरबन्दीका रेडियोलोजिष्ट कोशीमा छैनन् । अस्पताल विकास समितिमार्फत तीनजना नियुक्ति गरिएको थियो । तीमध्ये दुईजनाले राजीनामा दिएपछि बाँकी एकजनाबाट काम चलाउनु पर्ने अवस्था छ ।

जनशक्ति अभाव भएपछि विभागले कोटा प्रणाली लागु गरेर सेवा उपलब्ध गराउने तयारी गरेको थियो । त्यस क्रममा सेवाग्राही तथा आफन्तले सरकारी अस्पतालको सेवाप्रति असन्तुष्ट जनाउँदै आन्दोलित भएका हुन् । उपचारका लागि आएका सेवाग्राहीले भिडियो एक्स–रे, अल्ट्रासाउण्ड लगायतको बिल काटिसकेपछि सेवा नपाएको भन्दै विरोध जनाएका थिए ।

जनशक्ति अभावका कारण दैनिक दुईसयले पाउँदै आएको सेवा अहिले ६० जनाले मात्रै पाउन सक्ने अवस्था रहेको निमित्त मेसु यादवले जानकारी दिनुभयो । समस्या भईरहेको छ, निमित्त मेसु यादवले भन्नुभयो–जसोतसो एकदिनको समस्या हल गरेका छौं, तर सधैं यसरी चल्ने देखिदैन । तत्काल गर्नुपर्ने एक्स–रे का काम समेत पालो पर्खेर बस्दा तीनदिन लाग्ने गरेको सेवाग्राहीको गुनासो छ । कतिपयले एकहप्तामा समेत पालो नआएको भन्दै गुनासो गरेका छन् ।

विराटनगर–४ की जानुका लिम्बूले आफूलाई रक्तश्राव भएर गत बिहीबारदेखि उपचार गराउन आउँदा सेवा नपाएको बताउनुभयो । आइतबार बिहान ७ बजेदेखि लाइन बसेर पूर्जा कटाएको थिएँ, लिम्बूले भन्नुभयो–सोमबार बिहान ८ बजेदेखि पालो पर्खदा समेत पाइन ।

अस्पताल विकास समितिले नियुक्त गरेका तीनजना रेडियोलोजिष्टले राजीनामा दिएका छन् । डा.अंशु श्रेष्ठ, डा.सितेश कोइराला र राजा सुवालमध्ये दुईजनाले राजीनामा दिएका हुन् । संघ अन्तर्गत डा.ओम बिजु पन्त विभागिय कारवाहीमा परेपछि अर्का डा.पुष्कर देवले राजीनामा दिनुभएको थियो । अहिले विकास समितिमार्फत करारमा नियुक्ति डा.राजा सुवाल एक्लैले विभागको सबै काम हेर्नुपर्ने बाध्यता रहेको छ । संघ अन्तर्गत दरबन्दीका रेडियोलोजिष्ट नहुँदा अस्पतालको सेवाप्रवाह प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्