विराटनगर । हराएको हाँस खोज्न गएकी धनपालथान गाउँपालिकाकी एक महिला शंकास्पद अवस्थामा मृत फेला परेकी छिन् । छिमेकीको घर पछाडि धानखेतमा मृत भेटिएकी उनको कर्तब्य गरि हत्या गरिएको हुनसक्ने मृतक परिवारले आरोप लगाएका हुन् ।
धनपालथान गाउँपालिका ४ सिमराहा, नवटोलियाकी ३५ वर्षीया जानकी देवी सहनी आईतबार राति छिमेकीकै घर पछाडिको खेतमा मृत भेटिएकी थिईन् । आफुले घरमा पालेको हाँसमध्येको एउटा घर नफर्किएपछि साँझ ७ बजे खोज्न निस्किएकी उनी रातको साढे १० बजे छिमेकीको घर पछाडिको खेतमा जमेको पानीमा मृत भेटिएकी थिईन । साडीले अनुहार छोपिएको तथा पानीमा लडेको अवस्थामा मृत भेटिएकी जानकीको अनुहार सहित आँखा,कान र मुखबाट रगत निस्किरहेको अवस्थामा भेटिएको मृतककी छोरी सुलेखा मुखियाले बताईन् ।
मृतक जानकी र छिमेकीहरुबीच विगत देखीनै बिभिन्न बिषयमा झगडा तथा कुटपिटका घटनाहरु समेत हुँदै आएको बताइएको छ । यसअघि पनि आफ्नी श्रीमती र छिमेकीहरुबीच झै–झगडा भएको कारण छिमेकीहरुले सार्वजनिक रुपमै ज्यानमार्ने धम्की समेत दिंदै आएको मृतकका श्रीमान बिनोद मुखियाले बताउनुभयो । पछिल्लो पटक गएको शनिवार आफ्नो एउटा हाँस चोरी भएको बिषयमा छिमेकीहरुसंग बिवाद भएको तथा घटना भएकैदिन समेत हाँस चोरी भएपछि खोज्न गएकी श्रीमतिलाई कर्तब्यगरी ज्यान मारेको हुनसक्ने दावी गरे ।
घटनाको बिषयमा जानकारी पाएपछि प्रहरीले शवको मुचुल्का गरि विराटनगरको कोशी अस्पतालमा पोष्टमार्टम गराएको छ । पोष्टमार्टका निम्ति शव विराटनगर ल्याइएपछि कोशी अस्पतालमा मृतकका आफ्न्तको भीड लागेको थियो । जानकीको हत्या गरिएको आफन्त र छिमेकीले बताउदै आएका छन् ।
उक्त घटनामा प्रहरीले ३ जना छिमेकीलाई प्रारम्भिक सोधपुछका निम्ति नियन्त्रणमा लिएको स्थानीयले बताएका छ्न ।
यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी दिपक श्रेष्ठले गएराति ७ बजे हाँस खोज्न गएको तर राती १० बजे मृतकको शव खेतको पानीमा डूबेको अवस्थामा भेटिएको जानकारी दिनुभयो ।
उहाँले मृतकको शवमा बाहिरी चोट नदेखिएको समेत बताउनुभयो । मृत भेटिएकी जानकी र छिमेकीबीच गएको १६ गते समेत हाँस हराएको बिषयमा झै–झगडा भएको आफुलाई जानकारी आएको बताउनुभयो । घटनाको बिषयमा सोधपुछ र अनुसन्धान जारी रहेको बताउनुहुँदै उहाँले पोष्टमार्टमपछि धेरै कुरा खुल्ने जानकारी दिनुभयो ।