अपाङ्गता भएका व्यक्तिलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगारको अवसर

अपाङ्गता भएका व्यक्तिलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगारको अवसर

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगार तथा स्वरोजगारको अवसर दिन थालिएसँगै उनीहरुको दैनिक जीवनयापन सहज बन्न थालेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले यस्ता व्यक्तिहरुलाई क्षमताका आधारमा रोजगारको अवसर दिन थालेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, राष्ट्रिय अपाङ्ग महासंघ र द लेप्रोसी मिसन अफ नेपालको त्रिपक्षीय साझेदारीमा स्वरोजगार तथा रोजगारको अवसरका लागि फाउण्ड परियोजनाले काम गरिरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतका अनुसार फाउण्ड परियोजनामार्फत अपाङ्गता भएकाहरुलाई रोजगारी दिलाउन महासंघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको हो ।
करिडोर अन्तर्गत मोरङ र सुनसरीमा हालसम्म १९० जना अपाङ्गता भएका व्यक्तिहरु रोजगार बनेका हुन् । जसमध्ये ६७ जनालाई बीउ पूँजी लगानी गरेर स्वरोजगार बनाइएको छ । उनीहरुले सिटी रिक्सा चलाउने, चिया पसल सञ्चालन गर्ने, ब्यूटी पार्लर, मौरी पालन, अगरबक्ति उत्पादन, मसला उद्योग सञ्चालन गर्ने जस्ता काम गरिरहेका हुन् ।

यसैगरी क्षमताका आधारमा १४ जनाले औद्योगिक तथा व्यपारिक प्रतिष्ठानमा रोजगारी पाएको उपाध्यक्ष राउतले जानकारी दिनुभयो । राउतले स्वरोजगार बन्नका लागि व्यवसाय गर्नेहरुलाई राज्यले विशेष सुविधा दिनुपर्ने गरि आगामी वर्षको बजेटमार्फत सम्बोधन गराउन महासंघले पहल लिने बताउनुभयो । व्यवसायिक बनेकाहरुले व्यवसाय दर्ता शुल्क, नविकरण शुल्क, बिद्युत महसुल, कर जस्ता शिर्षकमा बुझाउने पर्ने रकममा विशेष सहुलियत पाउने सुविधा राज्यले दिनसक्ने उपाध्यक्ष राउतको भनाई छ ।
रोजगारबिहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर फाउण्ड परियोजना कार्यन्वयनमा आएसँगै दैनिक जीवनयापन सहज बन्दै गएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले बताउनुभयो । यस्तो अवसरका लागि रोजगारदाता र रोजगार पोर्टलबीच अन्तरक्रिया गराएर अपाङ्गता भएका व्यक्ति वा उसका परिवारका सदस्यलाई अवसरमा जोड्ने कार्य भईरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्थानीय तहमा समेत उनीहरुको रोजगार सुनिश्चिताका लागि महासंघले छलफल गरिरहेको छ ।

अपाङ्गता भएका व्यक्तिले अभिभावकसँग पूर्ण आश्रित हुनुपर्ने अवस्था देखिए अभिभावकलाई रोजगारीमा जोड्ने गर्दछौं, श्रेष्ठले भन्नुभयो–होटल, उद्योग, शिक्षण, यातायात जस्ता क्षेत्रमा अहिले धेरैले रोजगार पाउने अवसर सिर्जना भएको छ । यस्ता व्यक्तिहरुलाई रोजगारी दिदाँ कार्यस्थलमा केहि समस्या हुने भएपनि त्यस्ता समस्याको समाधानका लागि राष्ट्रिय अपाङ्ग महासंघले पहल लिने गरेको छ । प्रदेश १ मा मात्रै ९५ हजारको संख्याखमा दश प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको संख्या रहेको छ ।
कतिपय औद्योगिक प्रतिष्ठानका प्रतिनिधिले सपाङ्ग भएका भन्दा अपाङ्गता भएका व्यक्तिहरुको काम गर्ने तरिका सहज रहेको बताएका छन् । अरिहन्त मल्टिफाइबर्सका एचआर नारायणप्रसाद लामिछानेका अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई तोकिएको जिम्मेवारी कार्यस्थलमा सहज रुपमा पालना गर्ने गरेको बताउनुभयो । अरिहन्तले हाल ११ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न विधाको काममा जोडेको उहाँले बताउनुभयो ।

शारिरीक अपाङ्गता भई रोजगारीमा जोडिनु भएकी रुची मगरले कार्यस्थलमा अपाङ्गतामैत्री संरचना नहुँदा कपितय अवस्था असहज नभएपनि व्यवस्थापन पक्षले अन्य कामदारको तुलनामा बढी नै सहजीकरण र माया देखाउने गरेको अनुभव सुनाउनुभयो ।
फाउण्ड परियोजनाका प्रवन्धक विपिन दासले अपाङ्गता भएका व्यक्तिहरुलाई सवल बनाउन सक्दा मात्रै उनीहरुको परिचय बदलिने बताउनुभयो । फाउण्ड परियोजनाले रोजगारदाता र रोजगार पोर्टलबीच विभिन्न चरणका छलफल गरेर रोजगारीको अवसर सिर्जनाका लागि पहिलो तीन महिना परीक्षणको रुपमा कार्यस्थलमा खटाउने गरेको छ । त्यसपछि सम्बन्धित प्रतिष्ठानले उनीहरुको पारिश्रमिक भुक्तानीसहितको सुविधा उपलब्ध गराउने गरेका हुन् । सोमबार रोजगारदाता र रोजगार पोर्टलबीच अपाङ्गता भएका व्यक्तिहरुको रोजगारी सहजीकरणका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्