पत्रकार आचारसंहितासम्बन्धी तीनदिने तालिम सम्पन्न

पत्रकार  आचारसंहितासम्बन्धी तीनदिने तालिम सम्पन्न

काठमाडौँ

वाग्मती प्रदेशका क्रियाशील पत्रकारका लागि यही साउन २२ गतेदेखि सुरु गरिएको आचारसंहितासम्बन्धी तीनदिने तालिम आइतबार सम्पन्न भएको छ । तुलसादेवी हरिहर फाउन्डेसनले आयोजना गरेको सो तालिममा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका सबै जिल्लाका २४ क्रियाशील पत्रकारको सहभागिता थियो ।

तालिममा वरिष्ठ पत्रकार प्राध्यापक रामाकृष्ण रेग्मी, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षद्वय डा सुरेश आचार्य र धर्मेन्द्र झा, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र पत्रकार डिल्लीरमण सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षकले पत्रकार आचारसंहिता विश्व परिवेश र नेपाल सन्दर्भ, आचारसंहिता नियमनमा प्रेस काउन्सिलको भूमिका, छापा सञ्चारमाध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियामा आचारसंहिताको पालनासम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । विभिन्न सञ्चारमाध्यममा कार्यरत क्रियाशील सहभागी पत्रकारले सो तालिम उपलब्धिमूलक भएको बताउनुभएको थियो ।

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै वरिष्ठ पत्रकार प्राध्यापक रेग्मीले अहिलेको इन्टरनेटको युगमा आचारसंहिताको बहस कठिन विषय भएको बताउनुभयो । उहाँले कागजको पानामा मात्र सीमित नभएर मोबाइलको स्क्रिनमा सूचना प्रवाह भइरहेको यो आधुनिक युगमा पत्रकारले मात्र नभएर सञ्चारकर्मीले पनि आचारसंहिता पालना गर्नुपर्छ भन्नुभयो । अहिले सन्देश दिने र लिने को हुन् भनेर छुट्याउनै कठिन अवस्था आएको भन्दै उहाँले त्यसैले पनि पत्रकारको आचारसहिंता अहिले झन बढी सान्दर्भिक भएको धारणा राख्नुभयो ।

तालिम कार्यक्रमको समापनमा फाउन्डेसनका अध्यक्ष सरु सुवेदीले प्रशिक्षक, प्रशिक्षार्थी र सहयोगी संस्थालाई धन्यवाद दिँदै यस कार्यक्रमबाट आफूले पनि पत्रकारिताको आचारसंहिताको कति धेरै महत्व रहेछ भन्ने कुरा बुझ्ने अवसर पाएको बताउनुभयो ।

यसअघि सो संस्थाले प्रदेश नं १ का पत्रकारलाई विराटनगरमा र २ को जनकपुरमा यही तालिम सम्पन्न गरिसकेको छ । त्यसैगरी गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पत्रकारका लागि भने भर्चुअल विधिबाट तालिम सम्पन्न भएको सो फाउन्डेशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्