दुई अर्ब लगानीमा इटहरीमा भाटभटेनीको सुपरस्टोर, पूर्वका लागि व्यापारिक र मनोरञ्जनको मुख्य केन्द्र

दुई अर्ब लगानीमा इटहरीमा भाटभटेनीको सुपरस्टोर, पूर्वका लागि व्यापारिक र मनोरञ्जनको मुख्य केन्द्र

इटहरी । भाटभटेनी सुपर मार्केटले सुनसरीको इटहरीमा सुपर स्टोर निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । आगामी भदौ भाटभटेनीले पूर्वको इटहरीमा नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर सञ्चालनमा ल्याउने भएको हो।

आगामी चाडपर्व लक्षित गर्दै भदौ १९ गतेदेखि इटहरी चोकपश्चिम लबीपुरमा सुपर स्टोर शुभारम्भ गरिने भएको छ । दुई अर्ब लगानीमा इटहरी चौक पश्चिममा भाटभटेनी सुपर स्टोर निर्माण सम्पन्न गरिएको हो । यसको औपचारिक पूजाआजा समेत सकिएकोले आगामी भदौ १९गतेदेखि कारोबार शुभारम्भ गरिने छ । जमिन र भौतिक संरचना निर्माणमा भाटभटेनीले २ अर्ब लगानी गरेको छ । भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले सुपर स्टोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र सरसामानहरू सजाउने काम सुरु भइसकेको जानकारी दिनुभयो ।

व्यवस्थापक भट्टराईका अनुसार १८ महिनाअघि ३५ कट्ठा जमिनमा भाटभटेनीको निर्माण कार्य सुरु गरिएको थियो। यसको उद्घाटन गत पुसदेखि माघ महिनासम्ममा नै गरिसक्ने लक्ष्य राखिएको थियो। तर कोभिड सङ्क्रमणका कारण ६ महिना ढिला भयो। सुपर स्टोरमा ए, बी र सी गरी ३ वटा ब्लक छन्। तीन वटै ब्लकको कुल क्षेत्रफल ३ लाख वर्गफिट छ। सबै ब्लकमा बेसमेन्टसहित ७ तला छन्। बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी सजिलै अटाउने क्षमता छ।

मनोरञ्जनका लागि भुइँतलामा ८ सय वर्गफिटका ३ वटा फाउन्टेन बनाइएको छ । ए र बी ब्लकमा भाटभटेनीकै सामान राखिनेछन्। जसमध्ये भुइँतलामा ग्रोसरी, फ्रोजन आइटम, शृङ्गार प्रसाधन, हरियो तरकारी, पेय पदार्थ आदि राखिनेछन्। ग्रोसरीमा १८ वटा काउन्टर रहनेछन्। ग्रोसरीभित्रै आइसक्रिम पार्लर पनि राखिएको छ।
पहिलो तला किचनवेयर र बालबालिकाका खेलौनाका लागि छुट्याइएको छ। यसमा ७ वटा काउन्टर हुनेछन्। दोस्रो तलामा कपडा, जुत्ता आदि राखिनेछन् र यसमा १० वटा काउन्टरको व्यवस्था गरिएको छ। भाटभटेनीका अन्य स्टोरमा नपाइने ब्रान्डेड र मल्टिनेसनल कम्पनीका कपडा र जुत्ता पनि यस तलामा उपलब्ध हुने भट्टराईले बताउनुभयो।

तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, लगेज, गलैँचा आदि सजाइनेछ। यसमा १ काउन्टर राखिनेछ। चौथो तलामा हङकङको विश्व प्रसिद्ध मल्टिनेसनल कम्पनी क्यू एन्ड क्यूका फर्निचर हुनेछन्। पूर्वका लागि यी फर्निचर अत्यन्त नयाँ र आकर्षक हुने दावी छ ।
फर्निचरको तलाभन्दा माथि २ वटा मल्टिप्लेक्स सिनेमा हल हुनेछन्। एक हलको दर्शक क्षमता ५ सय हुनेछ। त्यस्तै सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट हुनेछ। यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ। यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिनेछ।

हिमालय जाबा कफीभन्दा माथिका तला क बर्गका वाणिज्य बैङ्कका लागि छुट्याइएको छ। यही ब्लकमा बैङ्कका १० वटा एटीएम पनि राखिनेछन्।इटहरीको भाटभटेनीमा प्यासेजमा हिँड्न अटोवाक राखिएको छ। प्यासेजमा अटोवाक नेपालमै पहिलो पटक इटहरीमा भाटभटेनीले राखेको हो ।
साउनको पहिलो हप्तादेखि १ सय युवायुवतीलाई परिचालन गरेर इटहरी र वरपरका क्षेत्रका १ लाख घरधुरीमा प्रचार गरिसकिएको छ । वरपरका वराह क्षेत्र, इनरुवा, रामधुनी, दुहबी, सुन्दरहरैँचा, पथरी, केराबारी, लेटाङ लगायतका स्थानमा भाटभटेनीका कर्मचारी घरघरै पुगेर यही १९ गतेदेखि इटहरीमा भाटभटेनीमा किनमेल र मनोरञ्जन गर्न आउन निमन्त्रणा दिइरहेका छन्।
एकै पटक १० हजार व्यक्ति इहटरीको सुपर स्टोरमा पस्दा समेत भीडभाड नहुने दावी गरिएको छ । त्यस भन्दा फरक कुरा के छ भने यो व्यापारिक कारोबारको मात्रै नभई मनोरञ्जनको केन्द्रको रुपमा समेत सेवा दिनसक्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्