ठूला उद्योगकै उत्पादन गुणस्तर प्रतिकुल : न त उपभोक्तासम्म पुगेका वस्तु फिर्ता हुन्छन्, न त समयमै मुद्दा फस्र्यौट

ठूला उद्योगकै उत्पादन गुणस्तर प्रतिकुल : न त उपभोक्तासम्म पुगेका वस्तु फिर्ता हुन्छन्, न त समयमै मुद्दा फस्र्यौट

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत सुनसरीको सोनापुरमा रहेको एशियन थाई फुड प्रा.लि.का उत्पादनमा गुणस्तर कैफियत भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्ला प्रशासनमा दर्ता गरेको मुद्दा विचाराधिन छ । एशियन थाई फुड्सको चाउचाउमा खाद्य गुणस्तर मापदण्ड विपरित जलांम्श (पानीको मात्रा) र एसिड भ्याल्यू बढी पाइएपछि गतवर्ष पुस २९ गते सुनसरी जिल्ला प्रशासनमा मुद्दा दर्ता गरिएको थियो ।

तर, मुद्दा दर्ता गरिएको यतिका समयसम्म मुद्दाको फस्र्यौट भने भएको छैन । ठूला उद्योगबाट उत्पादित खाद्य पदार्थ गुणस्तर प्रतिकुल भएपनि त्यस उपर कारवाही प्रक्रिया तत्काल नहुँदा उपभोक्ताले भने गुणस्तरहिन वस्तु नै उपभोग गर्न बाध्य हुनु परेको छ । नाम चलेका र बजारमा ख्याती कमाईसकेका ब्राण्डेड खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठ्दा समेत त्यस्ता वस्तुको बिक्री वितरणमा तत्काल रोक लाग्ने गरेको छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर तथा डिभिजन कार्यालय झापा, सुनसरी, उदयपुर र धनकुटाले आर्थिक वर्ष २०७७-२०७८ मा ४१३ वटा नमूना संकलन गरेकोमध्ये २८ वटाको प्रतिकुल नमूना भेटिएका थिए । मोरङमा १२ प्रतिकुल नमूना भेटिएकामध्ये ९ वटा, सुनसरीमा भेटिएका ५ वटा प्रतिकूल नमूना र अघिल्लो वर्षबाट सरिआएको समेत २० वटा, उदयपुरमा ७ प्रतिकुल नमूना भेटिएकामध्ये एकवटा मुद्दा दर्ता गरिएको थियो । झापामा २ र धनकुटाका २ प्रतिकुल नमूनाको मुद्दा दर्ता गर्ने प्रक्रियामा छन् ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले कुनै खाद्य वस्तुको नमूनामा कैफियत देखिए त्यहि ब्याचको वस्तु उत्पादकले बजारबाट फिर्ता ल्याउनु पर्छद । तर, त्यसका लागि दर्ता भएको मुद्दा फस्र्यौट भएर कैफियत प्रमाणित हुनुपर्दछ ।

गत आर्थिक वर्ष मोरङमा नमूना संकलन गरिएकामध्ये १०.३४ प्रतिशत वस्तुको गुणस्तरमा कैफियत फेला परेको थियो । त्यसमध्ये प्रशोधित पानीको १, दूध तथा दुग्ध पदार्थ २, खाद्यन्न, दलहन तथा सोबाट बनेका वस्तु ४, चिया कफी मसला १, दाना २, माछा मासुजन्य २ रहेका छन् । मोरङमा न्यून गुणस्तरीय घ्यू बिक्री वितरण गरेको आरोपमा बालाजी डेरी उद्योग विराटनगर–९ का सञ्चालक रीता रानी साह, विराटनगर–४ स्थित शिवम् डेरीका पुनिता साह, विराट गोल्छा घ्यूका रमेशकुमार गोल्छा, बुढीगंगा–७ स्थित एशियन फिड्सका सञ्चालक सुजन थापा, शंकर किराना सञ्चालक गुञ्जन कुमारी सिंह, विराटनगर–९ स्थित कपिश इन्टरप्राइजेजका निनु अग्रवाल बंशल, विराटनगर–११ स्थित सगुर पाउरोटी सञ्चालक अरबिन्द स्वर्णकार, कटहरी–६ स्थित जय माँ भगवती कन्फेक्सनरी र अमुल्य फिड प्रा.लि. बुढीगंगा–५ विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

एशियन थाई फुड्सका उत्पादन जस्तै क्यालिटी डाइट एण्ड फुड प्रोडक्ट्स प्रा.लि. दुहबी सुनसरीको बिस्कुटमा एआईए (कालो-डढेको), कोशी गाउँपालिकाको प्रकृति जल उद्योगको उत्पादनमा कोलिफर्म, बाह्य पदार्थ र दिव्यधरी जल उद्योगको उत्पादनमा ब्याच ब्याच नम्बर समेत उल्लेख नभएको पाइएको थियो । यसैगरी बाबा फुड प्रोडक्ट इटहरीको उत्पादन मिति र ब्याच नभएको भेटिएको थियो । यसैगरी एभरेष्ट सल्भेन्ट प्रा.लि. इटहरी–१२ सुनसरीको खाद्य तेलमा पेरोसाइड भ्याल्यु बढी पाइएको थियो भने पशुपति खाद्य तेल इटहरीको उत्पादन मिति र ब्याच उल्लेख नगरिएको पाइएको थियो । यसैगरी क्यालिटी फुड स्न्याक्स ई.दुहबीले उत्पादन गर्ने खाद्यवस्तुमा अल्कोलिक एसिडिटी, एआईए पाइएपछि मुद्दा दर्ता गरिएको छ । सुनसरीकै पूर्वाञ्चल मिल्क एण्ड फुड्स प्रा.लि.को उत्पादनमा समेत एआईए बढी पाइएपछि जिल्ला प्रशासनमा मुद्दा विचराधिन रहेको छ । रिजाल टासी ई.प्रा.लि.का उत्पादन मिति र ब्चाच उल्लेख नगरेको आरोपमा मुद्दा दर्ता गरिएको प्रमुख रिजालले जानकारी दिनुभयो । प्रमुख रिजालले बजार अनुगमनका लागि कार्यालयमा जनशक्ति अभाव हुँदा समस्या भईरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्