टंकीसिनवारीमा बिद्युतको कंक्रिट पोल उत्पादन सुरु

टंकीसिनवारीमा बिद्युतको कंक्रिट पोल उत्पादन सुरु

विराटनगर। नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीमा कंक्रिट पोल प्लान्ट आयोजना स्थापना गरेर विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयले प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो ।
प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरु उत्पादन सुरु भएका हुन् । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५८० थान छ ।

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार परीक्षण उत्पादनको निरीक्षण गर्नु भएको थियो । नियमित रुपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन समेत दिइएको छ ।
उनले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गरे । आयोजना प्रमुख परमार धीरसेनले कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको जानकारी दिनुभयो ।

परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिनुभयो । प्लान्टबाट उत्पादित पोलहरु मुख्य रुपमा प्रदेश नं १ र र २का जिल्लाहरुमा आपूर्ति गरिने छ । प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कंक्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ । मोरङमा यो तेस्रो प्लान्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्