विराटनगर । जीर्ण भवनमा क्षमता भन्दा धेरै संख्यामा कैदीबन्दी बस्नुपर्ने बाध्यता रहेको मोरङ जिल्ला कारागारको नयाँ भवन बन्ने भएको छ । विराटनगर हाटखोलास्थित साविक कारागार परिसरमा ३० करोड ८३ लाख रुपिँया लागतमा नयाँ भवन निर्माण सुरु गरिएको हो ।
आगामी २०८० साल पुस २४ गतेसम्ममा सम्पन्न गर्नुपर्ने गरि कारागार भवन निर्माण शुभारम्भ गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले भवनको विधिवत निर्माण शिलन्यास गर्नु भएको छ ।
भवन निर्माणका लागि आशिष, आशिर्वाद र स्वामी नारायण जेभीसँग सम्झौता भएको थियो । निर्माण सुरू गरिएको नयाँ भवनमा महिला र पुरुष कैदी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासन, कारागार प्रमुख, चमेनागृह र आगन्तुकका लागि अलग–अलग कक्ष रहने छ । दश कठ्ठा १० धुर क्षेत्रफलमा संरचना तयार पार्न शहरी विकास मन्त्रालयबाट बजेट बिनियोजन भएको थियो ।
नयाँ भवनमा ८८ शै्या महिला र २५० शै्या पुरुष कैदीका लागि हुनेछन् । मोरङ कारागारमा ७१ म्हिलासहित ९२९ जना कैदीबन्दी अहिले रहेको कारागार प्रशासनले जानकारी दिइएको छ । कारागार प्रशासनका रामप्रसाद पोखरेलले नयाँ र पुरानो दुवै भवन प्रयोगमा आएपछि केहि सहज हुने बताउनुभयो ।
निर्माण कम्पनीका प्रमुख केशर बुढाथोकीले राज्यले लगानी गरेको यस प्रकारको भौतिक सम्पत्तिमा कुनै कमीकमजोरी नहुने प्रतिवद्धतासहित निर्धारित मितिमा हस्तान्तरण गर्ने बताउनुभयो ।