विराटनगर । मोरङ कारागार हाटखोलामा कैद भुक्तान गर्दै आएका कैदीको मृत्यु भएको छ । कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका बेला ढलेका मोरङ रतुवामाइ नगरपालिका ५ का ५२ वर्षीय धनबहादुर गुरूङको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार मंगलबार दिउँसो मोरङ कारागारमा कोभिड १९ विरूद्धको खोप लगाउने तयारी गरिएको थियो । खोप लगाउन उभिएका गुरुङ अचानक बेहोस भएर ढलेका थिए । उनको उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको कारागारका जेलर रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
जवरजस्ती करणी मुद्दामा गुरूङलाई मोरङ अदालतले १० वर्ष कैद सजायको सुनाएको थियो । उनी २०७४ वैशाख ५ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । मंगलबार कारागार भित्र ७ सय १५ पुरूष र १७ जना महिला गरि ७ सय ३२ जना कैदीबन्दीले कोभिड १९ विरूद्धको खोप लगाएका थिए ।