विराटनगर । मोरङको मिक्लाजुङमा पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । छिमेकमा भएको घरझगडा मिलाउन गएका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–६ भण्डारी टोल बस्ने ३३ वर्षीय रविन तामाङ, २५ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय आइतराज तामाङ र ४० वर्षीय भाग्य बम्जन ९तामाङ० छन् । रविन आइतराज र सञ्जय दाजुभाइ हुन् । बम्जन रविनका जेठान हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी श्रीमती निरुताबीच भदौ ३ गते बेलुका झगडा भएको थियो । उनीहरुलाई सम्झाउन भन्दै रविनका जेठान भाग्य बम्जन, दुर्गाबहादुर कार्की र मृतक लिम्बु रविनको डेरा पुगेका थिए ।
बम्जन मासु पसल चलाउँछन् । पसलमा आएका कार्की र लिम्बुलाई उनले साथी लिएर बहिनीको डेरामा पुगेका थिए । रविन र निरुता मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका थिए । झगडा नगर्न आग्रह गर्दा रविन, आइतराज र सञ्जयले लिम्बु र कार्कीमाथि दाउराले कुटपिट गरेका थिए । पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै आक्रमण भएपछि गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम ल्याइएको थियो । अस्पतालमा शनिबार राति उनको मृत्यु भएको हो ।