विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ । माधबकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई भदौ १० गते मुख्यमन्त्री बनाएको थियो । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका १० सांसदले समाजवादी रोजेका कारण आचार्य नेतृत्वको सरकार एक महिना पनि नटिक्ने देखिएको हो ।
पार्टी भित्रको विवादमा नराम्रोसँग खेलेका आचार्यले माधव नेपाललाई धोका दिएर बनेको मुख्यमन्त्री पद एक महिनासम्म पनि जोगाउन नसक्ने भएका छन् । माधव नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन नसकेका आचार्य अब केपी ओली लाइनबाट समेत पेलाईमा पर्ने देखिएको छ ।
१० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि आचार्य नेतृत्वको सरकार एक हप्ता मै अल्पमतमा परेको छ । प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने बिपक्षी गठबन्धनको बहुमत पुग्नेछ ।
प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । राप्रपाकी ईन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन् । संसदको यो जोडघटाउले पार्टीको लाइन परिवर्तन गरेर भएपनि मुख्यमन्त्री बन्न सफल बनेका आचार्यका लागि र विपक्षी गठबन्धनको सामू नेकपा एमालेका लागि अर्को झड्का लागेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नेतृत्व सम्हाल्दा गरेको राजनीतिक बेईमानीको परिणाम ओली सत्ता संघ र प्रदेशमा नै ढल्ने देखिएको छ । गठबन्धन सरकारले पूर्णता नपाएपनि प्रदेशहरुमा समेत ओलीलाई नराम्रोसँग धक्का लागेको छ ।