विराटनगर । इन्धन बोकेर नेपाल आयल निगममा आएको २० हजार लिटर डिजेल बोकेको ट्याङ्कर चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दुईदिन अगाडी विराटनगर–४ स्थित आयल निगमको पार्किङस्थलमा रोकिएको ट्याङ्कर चोरेर लैजादै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले घटनामा संलग्न आरोपमा विराटनगर महानगरपालिका–४ बस्ने २६ वर्षीय श्रवणकुमार यादव र विक्की रायलाई पक्राउ गरेको हो । उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरी भाग्दै गर्दा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बुढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरु विरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको ।