विराटनगर । मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रतिबन्धित औषधीसहित प्रहरीले एकै दिन पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ बर्षीय अनिश श्रेष्ठ र २१ बर्षीय सुजन श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुको घर कोठाबाट ट्रमाडोल–१५८ र स्पासपेन १४ ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यस्तै रतुवामाई नगरपालिका २ घरुचौकबाट ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ बर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स –डिएक्स – १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ ।
यसैगरी सोही स्थानमा हिजै राती सँवा १० बजे सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपाल तर्फ आउदै गरेको मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधी स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी ५ का २३ बर्षीय समिर मगर, झापा दमक १४ का २९ बर्षीय अब्दुल आमिर खान र उर्लाबारी ५ का २४ बर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।