सुदूरपश्चिममा छ लाखलाई कोरोनाविरुद्धको खोप

सुदूरपश्चिममा छ लाखलाई कोरोनाविरुद्धको खोप

बैतडी

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या छ लाख एक हजार ५ सय १८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका एक लाख ९५ हजार ३ सय ६१ व्यक्ति रहेका मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । यस्तै कञ्चनपुरमा एक लाख सात हजार १ सय ६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार ९ सय ४८, बझाङमा ४६ हजार ७ सय २४, डोटीमा ४५ हजार ४ सय २३, दार्चुलामा ३८ हजार ६ सय ५५, डडेल्धुरामा ३० हजार ९ सय ९३ र बाजुरामा २४ हजार १ सय ८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् ।

यसैबीच प्रदेशमा हालसम्म कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या भने चार लाख रहेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार चार लाख एक हजार ३३ ले पूर्ण खोप लगाएका हुन् । नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् । कैलालीका एक लाख ५५ हजार ५ सय १० ले पूर्ण खोप पाएका हुन् भने बाजुराका सात हजार २ सय १३ ले पूर्ण खोप लगाएका छन् ।

यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५ सय २६, डोटीमा ३१ हजार ३ सय ८९, अछाममा ३० हजार ६ सय ७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४ सय ४८ र डडेल्धुराका १२ हजार १ सय ६२ ले पूर्ण खोप पाएका छन् । यहाँका नागरिकलाई कोभिशिल्ड, स्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्