भाटभटेनी सुपर मोर्केटको नेपालकै ठूलो सुपर स्टोर इटहरीमा खुल्यो

भाटभटेनी सुपर मोर्केटको नेपालकै ठूलो सुपर स्टोर इटहरीमा खुल्यो

इटहरी । भाटभटेनी सुपर मार्केटले नेपाल कै सबैभन्दा ठूलो सुपर स्टोर संचालनमा ल्याएको छ । सुनसरीको इटहरीमा शनिबार सुपर मार्केटको उद्धघाटन गर्दै अहिले सम्म कै सबैभन्दा ठुलो सुपर मार्केट संचालनमा ल्याएको हो ।

इटहरी चोकपश्चिम लबीपुरमा सुपर स्टोरको भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङले पुजापाठ गरी शनिबारबाट शुभारम्भ गरिएको हो । झन्डै ३ अर्ब लगानीमा संचालनमा आएको सुपरमार्केटमा उद्धघाटनको दिन ईटहरी लगायत विराटनगर, धरान, ईनरुवा लगायत पुर्वबाट मानिसहरुको भाटभटेनीको अवलोकन गर्न आएका थिए ।

भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार १८ महिनाअघि ३५ कट्ठा जमिनमा भाटभटेनीको निर्माण कार्य सुरु गरिएको थियो। यसको उद्घाटन गत पुसदेखि माघ महिनासम्ममा नै गरिसक्ने लक्ष्य राखिएको थियो। तर कोभिड सङ्क्रमणका कारण ६ महिना ढिला भयो। सुपर स्टोरमा ए, बी र सी गरी ३ वटा ब्लक छन्। तीन वटै ब्लकको कुल क्षेत्रफल ३ लाख वर्गफिट छ। सबै ब्लकमा बेसमेन्टसहित ७ तला छन्। बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी सजिलै अटाउने क्षमता छ।

मनोरञ्जनका लागि भुइँतलामा ८ सय वर्गफिटका ३ वटा फाउन्टेन बनाइएको छ । ए र बी ब्लकमा भाटभटेनीकै सामान राखिएका छन् । जसमध्ये भुइँतलामा ग्रोसरी, फ्रोजन आइटम, शृङ्गार प्रसाधन, हरियो तरकारी, पेय पदार्थ आदि राखिएका छन् । ग्रोसरीमा १८ वटा काउन्टर रहनेछन्। ग्रोसरीभित्रै आइसक्रिम पार्लर पनि राखिएको छ ।
पहिलो तला किचनवेयर र बालबालिकाका खेलौनाका लागि छुट्याइएको छ। यसमा ७ वटा काउन्टर हुनेछन्। दोस्रो तलामा कपडा, जुत्ता आदि राखिनेछन् र यसमा १० वटा काउन्टरको व्यवस्था गरिएको छ। भाटभटेनीका अन्य स्टोरमा नपाइने ब्रान्डेड र मल्टिनेसनल कम्पनीका कपडा र जुत्ता पनि यस तलामा उपलब्ध हुने भट्टराईले बताउनुभयो।

तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, लगेज, गलैँचा आदि सजाइएको छ । यसमा १ काउन्टर राखिएको छ । चौथो तलामा हङकङको विश्व प्रसिद्ध मल्टिनेसनल कम्पनी क्यू एन्ड क्यूका फर्निचर हुनेछन्। पूर्वका लागि यी फर्निचर अत्यन्त नयाँ र आकर्षक हुने दावी छ ।
फर्निचरको तलाभन्दा माथि २ वटा मल्टिप्लेक्स सिनेमा हल हुनेछन्। एक हलको दर्शक क्षमता ५ सय हुनेछ। त्यस्तै सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट हुनेछ। यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ। यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिनेछ।
हिमालय जाबा कफीभन्दा माथिका तला क बर्गका वाणिज्य बैङ्कका लागि छुट्याइएको छ। यही ब्लकमा बैङ्कका १० वटा एटीएम पनि राखिएका छन्। इटहरीको भाटभटेनीमा प्यासेजमा हिँड्न अटोवाक राखिएको छ। प्यासेजमा अटोवाक नेपालमै पहिलो पटक इटहरीमा भाटभटेनीले राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्