कृषिमा भविष्य खोज्दै भोजपुरका युवा

कृषिमा भविष्य खोज्दै भोजपुरका युवा

भोजपुर

कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका-४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बन्नुभएको छ । उहाँ सानै उमेरमा दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक कृषिमा लाग्नुभएको हो । बाइस वर्षीय विष्टको दैनिकी कृषिमा बित्छ । उहाँले उठेदेखि साँझसम्मको समयमा कृषिमा लगाउनुभएको छ । विष्टले इलामबाट उन्नत जातका गाई ल्याएर पालन गरिरहनुभएको छ ।

उहाँले करिब रु १० लाख लागतमा गाईपालन थाल्नुभएको हो । सानै उमेरमा व्यवसायमा लाग्नुभएका उहाँ बिहान मोटरसाइकलमा राखेर ११ किलोमिटर पर रहेको भोजपुर बजारमा लगेर दूध बिक्री गर्नुहुन्छ । विष्टको फर्मबाट दैनिक ३५ देखि ४० लिटर दूध भोजपुर सदरमुकाम जान्छ । दूध बिक्रीबाट दैनिक रु दुई हजार आम्दानी गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

किसान विष्टले पशुपालनबाट निस्किएको मलको सदुपयोग गर्दै चार रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । आर्गानिक खुर्सानीको बजारमा राम्रो माग रहेको उहाँले जानकारी दिनुभयो । उहाँले उत्पादन गरेको खुर्सानी फर्मबाट नै रु २५० देखि ३०० मा बिक्री हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वदेशमा कृषिमा सम्भावाना देखेर कृषिमा लागेको हुँ, पशुपालनबाट निस्किएको मलको प्रयोग गर्दै आर्गानिक तरकारी खेतीसँगै व्यावसायिक रुपमा खुर्सानी खेती गरेको छु, सिजनमा एकपटकमा ७० देखि ८० किलोसम्ममा टिप्ने गरेको छु, किन्नका लागि व्यवसायी फर्ममा नै आउँछन् ।”

आफ्नो फर्ममा उत्पादन भएको खुर्सानी आर्गानिक भएकाले बजारमा माग धेरै रहेको किसान विष्टले बताउनुभयो । “मैले उत्पादन गरेको खुर्सानी आर्गानिक भएकाले बजारमा माग धेरै रहेको छ, यहाँबाट ठेकेदारले खुर्सानी धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा लैजाने गरेका छन्, खुर्सानीबाट पनि आम्दानी निकै राम्रो छ”, उहाँले भन्नुभयो ।

त्यस्तै करिब १४ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रशस्त मात्रामा प्राङ्गारिक मल हुने भएकाले सुन्तला खेती पनि राम्रो आम्दानीको स्रोत रहेको उहाँले बताउनुभयो । विष्टले भन्नुभयो, “मैले सुन्तलाको पनि व्यावसायिक खेती गरिरहेको छु, १४ रोपनी क्षेत्रमा सुन्तलाका बिरुवालाई विस्तार गरेको छु, केही बोटले आम्दानी दिन थालेका छन् भने अन्य बिरुवा हुर्कंदैछन्, भविष्यमा सुन्तलाबाट राम्रो आम्दानी लिने मेरो लक्ष्य छ ।”

स्वदेशमा व्यावसायिक रुपमा कृषिमा लाग्न सके राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । राज्यबाट आएको सुविधा तथा प्रोत्साहन भने वास्तविक किसानसम्म पुग्न नसकेको उहाँको भनाइ छ । उहाँले कृषिमा हालसम्म रु २० लाखभन्दा बढी लगानी गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यका तर्फबाट अनुदान आएको खबर सुन्न पाइन्छ, त्यस्तो अनुदान वास्तविक किसानसम्म पुगेको छैन, मैले पनि कृषिमा भविष्य देखेर काम थालनी गरेको हुँ, हालसम्ममा राज्यतर्फबाट खास सहयोग पाएको छैन, यहाँ कामभन्दा पनि पहुँचका आधारमा राज्यको अनुदान लिने प्रथा छ, झोलामा बाकेका फर्मले बर्सेनि अनुदान लिएका छन्, हामी जस्ता दुःख गर्ने किसानले त्यस्तो सहयोग पाउने अवस्था छैन ।”

युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक किसान मारमा परेका छन् । पाँच वर्षअघि बाट कृषि व्यवसाय गरिरहेको भए पनि हालसम्म कुनै प्रकारको राज्यको सहयोग नपाएको उहाँको गुनासो छ ।

कच्ची बाटो हिलाम्य हुँदा एक किलोमिटरसम्म दूधको क्यानलाई काँधमा बोकेर सडक राम्रो भएको ठाउँसम्म लैजाने गरेको उहाँले दुःखेसो गर्नुभयो । फर्ममा उहाँका बुबा तथा अन्य परिवारका सदस्यले सहयोग गरिरहनुभएको छ । जिल्लाका अधिकांश स्थानीय तह तथा सरकारका अन्य विभिन्न निकायबाट विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन हुने गरे पनि पहुँचवालाले मात्र यस्तो सुविधा पाउने गरेको वास्तविक किसानले बताउँदै आएका छन् ।

राजमार्ग लक्षित रु २४ करोडको कृषि कार्यक्रम :

कृषि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नका लागि भोजपुरमा मध्य पहाडी राजमार्ग लक्षित कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । यहाँका कृषि उपजको विकास गर्दै किसानलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ रु २४ करोड बराबरको कार्यक्रम सञ्चालन गरिने भएको हो । कार्यक्रम यहाँका चार स्थानीय तहमा सञ्चालनको तयारी गरिएको हो ।

कार्यक्रम अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन हुने गरी कामको थालनी गरिएको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय पाख्रीवास धनकुटाले जनाएको छ । कार्यक्रमका लागि विश्व बैंकको आर्थिक सहयोग रहेको छ । यसले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर गतिवधि सञ्चालन हुने आर्थिक करिडोर कार्यालयका कृषि अधिकृत सन्तोष थापाले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउन तथा उत्पादित वस्तुको व्यवस्थापन एवं भण्डारणमा समेत सहयोग गर्ने कार्यालयले जनाएको छ । यो कार्यक्रम भोजपुरसँगै प्रदेश नं १ का पाँचथर, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङगा र उदयपुरमा सञ्चालन हुने करिडोर कार्यालयका प्रमुख हर्षहाङ राईले बताउनुभयो ।

प्रमुख राईले भन्नुभयो, “मध्यपहाडी राजमार्गले छोएका स्थानीय तहलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिनेछ, यस क्षेत्रमा उत्पादित वस्तु सङ्कलन केन्द्र स्थापना, भण्डारण, प्याकेजिङ गरी बजारसम्म पुर्‍याउनमा समेत सहयोग गर्नेछ ।” लक्षित क्षेत्रमा पर्ने स्थानीय तहसँगको सहकार्यमा सहकारी तथा किसान समूहमार्फत कार्यक्रम सञ्चालन गरिने कार्यालयले स्पष्ट पारेको छ ।

यस आर्थिक वर्षमा जिल्लाका चार स्थानीय तहका कृषि तथा पशु शाखा, किसान समूह र कृषि सहकारीहरुलाई आयोजना तर्जुमा तथा व्यावसायिक योजना तयारीसम्बन्धी क्षमता अभिवृद्धि तालिम, स्थानीयस्तरमा मूल्य शृङ्खला, पूर्वाधार निर्माणलगायतको कार्यक्रम हुने बताइएको छ । त्यसपछि छनोट तथा प्राथमिकतामा परेका किसान, कृषि समूह, कृषि सहकारीमार्फत कामको सुरुआत हुने जानकारी दिइएको छ ।

कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार र विश्व बैंकबीच २०७७ सालमा सम्झौता भएको कार्यालयले जनाएको छ । कार्यक्रमले कोभिड-१९ कारण उत्पन्न भएको असहज परिस्थितिका कारण ग्रामीण अर्थतन्त्रको पुनस्र्थापना तथा रोजगारीको अवसरको विकास गर्ने लक्ष्य लिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्