प्रहरी हिरासतमा रहेका विराटनगरका कामतको मृत्यु रहस्यमय रहेको आफन्तको दावी

प्रहरी हिरासतमा रहेका विराटनगरका कामतको मृत्यु रहस्यमय रहेको आफन्तको दावी

विराटनगर । गाँजासहित पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि परिवारजनले घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका छन् । शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित पक्राउ परेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको हो ।

हिरासतमा रहेकै बेला विरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालमै उनको मृत्यु भएको खबर पाएपछि कोशी अस्पताल परिसर पुगेका आफन्त तथा परिवारजनले घटनाको निष्पक्ष छानबिनको माग गरेका हुन् । प्रहरी हिरासतमा रहेका व्यक्तिको दुवै खुटामा डोरीले बाँधेको निलडाम देखिएकाले प्रहरीले कुटपिट गरेको दावी मृतकका भाई विरेन्द्र कामतको आरोप छ ।

उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्न अदालत लैजाने तयारी गर्दा त्यही क्रममा बेहोस भएर ढलेका उनको उपचार गराउँदै गर्दा कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताउनुभयो ।
उहाँका अनुसार कामत विरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी थियो । शुक्रबार समय अपुग भएपछि र शनिबार सार्वजनिक विदा भएकाले आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी हुँदै गर्दा थुनुवाको मृत्यु भएको एसपी जीसीको भनाइ छ ।

मुखबाट फिँज निस्किएको अवस्थामा उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा दिउँसो २ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । एसपी जीसीले कामत लागुऔषधका दुव्र्यसनी र कारोबारी पनि रहेको बताउनुभयो ।
नियमित लागुऔषध सेवन गर्ने उनले प्रहरी हिरातमा हुँदा लागुऔषध सेवन गर्न नपाएको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गर्न नपाएको असरका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ । घटनाको अनुसन्धान सुरु गर्दै शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको र त्यसको रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण प्रष्ट हुने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्