विराटनगर |
विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रममा तीज कार्यक्रम आयोजना गरिएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सोमबार वृद्धाश्रममा तीज विशेष कार्यक्रम आयोजना गरेको हो ।
वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई रमाइलो गराउने उद्देश्यले औषधी व्यवसायी संघ मोरङले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्ने गरेको संघका अध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिनाले जानकारी दिए । वृद्धाश्रमा ६५ जना भन्दा बढी ज्येष्ठ नागरिक रहेका छन् ।
आफ्ना घरपरिवारबाट टाढा भएर बसेका वृद्धाआमाहरु तीजको गीतमा रमाईलो गरी नाचेका देखिन्थ्यो । यता कार्यक्रममा बोल्दै विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगत प्रसाद आर्यालले चाडपर्वको बेलामा तीज विशेष कार्यक्रम ज्येष्ठ नागरिकहरुको लागि अविस्मरणीय हुने बताए । साथै उनले यस्ता कार्यक्रमहरुले ज्येष्ठ नागरिक वृद्धा आमाहरुलाई घर परिवारको सम्झना पनि केही हदसम्म कमी हुने बताए ।
संघले आयोजना गरेको तीज विशेष कार्यक्रमको संयोजक सरीता श्रेष्ठ चौधरी रहेकी थिइन् । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिमल्सिनाले नेपालीहरुको महान चाड तीज पर्वमा यस्ता कार्यक्रमले समाजमा भाइचारा कायम गर्ने बताए । संघले यसअघि पनि वृद्धाश्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर खाद्यान्न र स्वास्थ्य सामाग्रीहरू पनि बितरण गर्दै आएको थियो ।
त्यसैगरी कार्यक्रममा संघका महासचिब दिनेश ठाकुरले तीज पर्वको शुभकामना व्यक्त गरे । कार्यक्रममा संघको सचिब हरिराज रेग्मी, कोषाध्यक्ष पुष्पराज पोखरेलको उपस्थित रहेको प्रवक्ता तथा संघका उपाध्यक्ष देशबन्दु ढकालले जानकारी दिए ।