संखुवासभा मादि हत्याकाण्ड : प्रहरी भन्छ–हेपाई सहन नसक्दा आवेगको घटना

संखुवासभा मादि हत्याकाण्ड : प्रहरी भन्छ–हेपाई सहन नसक्दा आवेगको घटना

विराटनगर । गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्याका आरोपी स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले इलाका प्रहरी कार्यालय चैनपुरमा आइतबार सार्वजानिक गरेको छ । प्रदेश प्रहरी कार्यालयका डिआईजी अरुणकुमार बिसीले मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्यामा संलग्नका विषयमा अनुसन्धान प्रक्रिया बारे जानकारी गराउनु भएको हो ।

डिआईजी बिसीका अनुसार घटनामा एकजनालाई देख्नेलाई एकपछि अर्को गर्दै सामूहिक हत्या भएको पाइएको बताउनुभयो । हत्याका अभियुक्त लोक बहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको देखेपछि उनले मार्ने योजना बनाएका प्रहरीको अनुसन्धानबाट खुलेको छ । जब बिहानै तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई आक्रमण गर्ने सोच बनाएका थिए, डिआईजी बिसीले भन्नुभयो–दाउराको हारमा गएर एउटा चिर्पट ठिक पारेर उनी नजिकै रहेको गोगनको रुख भएतिर झरे । अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आक्रमण गरे । तेजबहादुरले ‘लोकेले मा–यो, गुहार !’ भनेर चिच्याएपछि उक्त चिच्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आएको डिआईजी बिसीले घटनाको ब्रिफिङ्गमा उल्लेख गर्नुभयो । घटनामा संलग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले त्यही चिर्पटले टाउकोमा प्रहार गरेका थिए ।

कमला पनि लडे लगत्तै तेजबहादुरकी बुहारी रञ्जना बेहोस भएर ढलेकी थिइन् । तर, लोकबहादुरले बेहोसी अवस्थामै रञ्जनामाथि पनि प्रहार गरेको प्रहरीसँगको बयानमा उल्लेख गराएका छन्। तीन जनामाथि आक्रमण गरेको दुई बालबालिकाले देखेपछि उनीहरूलाई पनि आक्रमण गर्न जाँदा बालबालिकाहरू भागेका थिए । त्यसपछि उनीहरूलाई लखेट्दै लखेट्दै टाउकोमै चिर्पट हानेर हत्या गरियो ।
घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो । गुहारको चिच्च्याहट सुनेको र आफूलाई देखेको हुनसक्ने डर लोकबहादुरलाई थियो । त्यसपछि उनले गाई वस्तुलाई दिन खोले पकाइरहेकी बुढी हजुरआमालाई पनि आक्रमण गरी हत्या गरेको डिआईजी बिसीले बताउनुभयो । वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुवा बौद्धमानलाई केही गरेनन् । हत्यामा प्रयोग भएको चिर्पट भने प्रहरीले फेला पारेको छैन । आरोपीले लोकबहादुरले अगेनोमा बालेको बयान दिएका छन् ।

प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले उक्त दिन वरिपरि भएका सबैलाई मार्ने योजना बनाएको प्रहरीको दावी छ । प्रहरीसमक्ष लोकबहादुरले भनेका आफूलाई सधैं होच्याउने र गाली गर्ने गरेका कारण काका (तेजबहादुर) लाई मात्रै टार्गेट गरेको उल्लेख गरेका छन् । तर, आफूले हानेको देखेपछि सबैलाई आवेगमा आएर हानेको देखिएको डिआईजी बिसीले जानकारी दिनुभयो । प्रहरीले घटनास्थल बिकट रहेका कारण घटना हुँदाताका र त्यसपछिको समयमा प्रयोग भएका मोवायलहरुको विषयमा अनुसन्धान गर्न बाँकी रहेको जानकारी दिइएको छ । मुद्दा दर्तासँगै प्रहरीले घटनापछि जोडिएका कनेक्सनको विषयमा थप अनुसन्धान गर्नेछ ।

वारदातले घटनास्थलमा पुगेर स्थानीय समेतको उपस्थितिमा आफूले घटना गराएको विषयमा बोलेको डिआईजी बिसीले बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धानका क्रममा सबै प्रमाणहरुलाई जुटाएको दावी गरेको छ । आवेगमा आएर घटाइएको घटनामा अनुसन्धानको पक्षलाई मिहीन ढंगबाट टुङ्ग्याउन चाहेको प्रहरीले बताएको छ ।
प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गरेको थियो । लोकबहादुरले सबैलाई जनालाई टाउकोमै हानेर हत्या गरेको प्रहरीले बताएको छ । अनुसन्धानबाट के देखिएको छ भने, क्रमशः बलियो व्यक्तिबाट आक्रमण सुरु गरेर कमजोर व्यक्तितर्फ केन्द्रीत भएको पाइन्छ, डिआईजी बिसीले भन्नुभयो–सामान्य व्यवहारका कुरामा हुने भनसुनलाई इगोको रुपमा लिदाँ घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्