विराटनगर । निर्माणाधिन कोशी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रमा आज स्थानीयले आधा घण्टा चक्काजाम गरेका छन् । सडक सीमा विवाद रहेको दुहबी बजार क्षेत्रका स्थानीयले भत्केको सडक मर्मत गर्नुपर्ने माग गर्दै कोशी राजमार्गमा आधा घण्टा सवारी आवागमन रोकेका हुन् ।
छ लेन सडक परियोजनाले कोशी राजमार्ग अन्तर्गत रानी–धरान खण्डको स्तरोन्नतीको काम धमाधम गरिरहेको छ । तर, दुहबी बजारमा सडक सीमा क्षेत्र विवादका कारण सडक विस्तारको काम अगाडी बढाउन सकिरहेको छैन । आइतबार बजार क्षेत्रका युवाहरुले कार्यालय समयमा व्यस्त राजमार्ग बन्द गरेर तत्काल मर्मत गर्नुपर्ने आवाज उठाएका हुन् ।
बन्द गर्दा दुहवी बजारको दुवैतर्फ सवारीसाधनको दुई किलोमिटरभन्दा लामो लाइन लागेको थियो । स्थानीयले बाटोमा राखेको अवरोध हटाउन प्रहरीले हस्तक्षेप समेत गरेको थियो । केहीबेर चक्काजाम हुँदा दुहवीको बिग्रिएको बाटोमा जाम खुलेको दुई घण्टासम्म पनि सवारी आवागमन र जनजीवन अस्तव्यस्त भएको थियो ।
कोशी राजमार्गको दुहबी बजार क्षेत्रमा स्थानीयले नै सडक सीमा भित्र बनाएका संरचना नहटाउँदा विस्तारको काम हुन नसकेको हो । लामो समयदेखि स्थानीयले सडक विस्तार अवरोध गर्दै आएका कारण अन्य स्थानमा काम भईरहेको भएपनि दुहबी बजार क्षेत्रमा अहिलेसम्म काम सुरु भएकै छैन ।