विराटनगरका तीन स्थानमा चाडपर्व लक्षित सुपथमूल्य पसल, साल्ट ट्रेडिङसँग छैन चिनी, नुन मात्रै बिक्री गर्ने

विराटनगरका तीन स्थानमा चाडपर्व लक्षित सुपथमूल्य पसल, साल्ट ट्रेडिङसँग छैन चिनी, नुन मात्रै बिक्री गर्ने

विराटनगर । विराटनगरका तीन स्थानमा दशैं, तिहार र छठ पर्व लक्षित सुपथमूल्यका पसल सञ्चालनमा आएका छन् । उपभोक्तालाई चाडपर्वमा सहूलियत दरमा खाद्यन्न तथा खाद्य वस्तु बिक्री गर्नका लागि सरकारले तोकेका तीन निकायले विराटनगरमा आफ्नै कार्यालय परिसरबाट सामाग्री बिक्री गर्ने गरि पसल सञ्चालनमा ल्याएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.को प्रादेशिक कार्यालय अन्तर्गत कोशी प्रोजेक्ट, साल्ट ट्रेडिङ कार्यालय विराटनगर र दुग्ध वितरण आयोजना विराटनगरमा सहूलियतमा सामाग्री पाइने छ । यसैगरी प्रदेश १ का विभिन्न जिल्लाका १४ स्थानमा सुपथमूल्य पसल सञ्चालनमा आएका छन् । प्रदेश १ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. अन्तर्गत ११ वटा, साल्ट टे«डिङका दुई र दुग्ध विकास संस्थान अन्तर्गत एक स्थानबाट सूपथमूल्यमा खाद्य सामाग्री, नुन–चिनी तथा दुग्ध पदार्थ सम्बन्धि सामाग्री पाइने भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. ले प्रादेशिक कार्यालय विराटनगर अन्तर्गत कोशी प्रोजेक्ट नजिक, मुख्य शाखा कार्यालय बिर्तामोड, शाखा कार्यालयहरु भोजपुर, संखुवासभा र डिपो हटियागोला, शाखा कार्यालय ताप्लेजुङ, ओखलढुंगा, शाखा दिक्तेल, डिपो ऐसेलुखर्क र खोटाङ, शाखा कार्यालय सोलुखुम्बुमा सूपथमूल्य पसल सञ्चालनमा ल्याएको प्रमुख महेन्द्र सिटौलाले जानकारी दिनुभयो । सेवाग्राही आए सरकारले तोकेको मूल्यमा सामाग्री उपलब्ध गराउने सिटौलाले जानकारी दिनुभयो ।

सञ्चालनमा आएका पसलबाट स्थानीय बासमती चालम प्रतिकेजी १०५ रुपिँया, स्टिम जिरा मसिनो ६० रुपिँया, सानो मंसुली प्रतिकेजी ४५ रुपिँया, मसुरो दाल प्रतिकेजी १२० रुपिँया, मास दाल प्रतिकेजी १६५ र रहर दाल प्रतिकेजी १७० रुपिँयाले उपलब्ध हुने प्रादेशिक प्रमुख सिटौलाले जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङसँग छैन चिनी, नुन मात्रै
यसैगरी नुन र चिनी बिक्री गर्ने साल्ट टे«डिङ अन्तर्गत विराटनगर कार्यालय र शाखा कार्यालय बिर्तामोडमा सूपथमूल्यको पसल सञ्चालन हुने प्रादेशिक कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नुन १८ रुपिँया र चिनी ८० रुपिँया प्रतिकेजी उपलब्ध हुनेछ । तर, अहिले साल्ट ट्रेडिङसँग चिनी अभाव रहेको उहाँले जानकारी दिनुभयो ।

दुग्ध विकास संस्थान अन्तर्गतका खाद्य वस्तुको सुपथमूल्य पसल भने विराटनगरस्थित आयोजनाको कार्यालय परिसरमा मात्रै सञ्चालन हुने प्रमुख गणेश यादवले जानकारी दिनुभयो । दुग्ध वितरण आयोजना विराटनगरले अन्य कुनै स्थानमा सुपथमूल्यको पसल सञ्चालन नगर्ने उहाँले जानकारी दिनुभयो ।

शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुनको लागि मात्रै कोटा तोकिएको छ । एक व्यक्तिले ६ किलो नुन र २ किलो मात्रै चिनी किन्न पाउने छन् भने अन्य वस्तु चाहेजति खरिद गर्न सकिने छ ।
छठको भोलिपल्ट अर्थात कात्तिक २४ गतेसम्म ५५ दिनसम्म सुपथ मूल्य पसल सञ्चालनमा आउने छ । चाडपर्वमा बजारमा उपभोक्ता मूल्य नियन्त्रण गर्न सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा बजार भन्दा कम्तीमा २ रुपैयाँमा सस्तोमा खाद्य वस्तु उपभोक्ताले खरिद गर्न सक्ने सरकारी दाबी छ ।

सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउने छन् । खाद्य र साल्टको दुवै पसलहरुमा नुन प्रतिकिलोमा दुई रुपैयाँ, चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाइने छ । दुग्ध विकास संस्थाको उत्पादन पनि छुटमा बिक्री केन्द्रमा हुने भएपनि कुन वस्तुमा कति छुट भन्ने निर्क्यौल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्