सरकारले आजबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउँदै

सरकारले आजबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउँदै

विराटनगर ।

नेपाल सरकारले आजदेखि असोज १४ गतेसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । खोप दिनका लागि जिल्ला अनुसार उमेर समूह छुट्ट्याइएको छ ।

यस अभियान अन्तर्गत चारवटा उमेर समूहलाई जिल्ला अनुसार खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै सर्वसाधारणहरुलाई कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाइने मन्त्रालयले जानकारी दिएको छ।

यसपटक काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ ।साथै काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ ।

यी बाहेक अरू ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपुर्व बाहेकका जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी उमेर समूहबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटेल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिइने मन्त्रालयले जनाएको छ । त्यसैगरी सरकारले चैतभित्र सबै नागरिकलाई खोप दिइसक्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्