संखुवासभा मादी सामुहिक हत्याकाण्डले अर्कै मोड लियो, ‘प्लान मर्डर’ भएको पुष्टि

संखुवासभा मादी सामुहिक हत्याकाण्डले अर्कै मोड लियो, ‘प्लान मर्डर’ भएको पुष्टि

विराटनगर । संखुवासभा मादी नगरपालिका १ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरण ‘प्लान मर्डर’ नै भएको पुष्टि भएको छ । प्रहरीले यो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरेसँगै यो हत्या प्रकरणमा स्थानीय एव नाताले काका पर्ने खड्गबहादुर कार्कीको प्लानमा बनेको मर्डर पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार पत्रकार सम्मेलन गरी स्थानीय बौद्धमान कार्कीको ३ पुस्ते परिवार सखाप हुने गरी भएको हत्यामा प्रकरणको मुख्य योजनाकार छिमेकी खड्गबहादुर कार्कीको योजनामा भएको जानकारी दिएको छ । खड्गबहादुरको योजनामा सुरुमा पक्राउ परेका लोकबहादुर, उनका बुवा रणबहादुर, भाइ नरेश र खड्गबहादुरका छोरा हस्तबहादुर मिलेर तेजबहादुरका परिवारको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।


हत्याको योजना भदौ २० गते राती बनाएको अनुसन्धानबाट खुलेको छ । हत्याका मुख्य योजनाकार खड्ग बहादुर नियमित रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौच गर्ने गरेको र तेज कुमारले ‘तँ जँड्याहा किन यसो गर्छस” भनी गाली गर्ने गरेका थिए ।

खड्गबहादुरले पनि तेजबहादुरलाई “तँलाई के मतलब तँलाई मार्छु” भन्दै झगडा गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै मृतक तेजबहादुरले लोकबहादुरलाई “तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस” भन्ने गरेका थिए । खड्गबहादुर, लोकबहादुरलाई मात्र नभई तेजबहादुरले नरेशलाई पनि “तँ डुँडे काम नलाग्ने भईस” भन्ने र रणबहादुरलाई समेत “तँ लठेब्रो केही गर्ने सक्दैनस” भन्ने गरेको कारण प्रतिसोध साध्न तेजबहादुरको परिवार नै सखाप पार्ने योजना अनुसार हत्या भएको सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रवक्ता एसपी भीम दाहालले जानकारी दिए ।
घटनाको मुख्य योजनाकार खड्गबहादुर मृतक तेजबहादुरका काका नाता पर्छन । मृतक तेजबहादुरले धेरै पटक हेपेर गाली गर्ने गरेको कारण तेजबहादुरलाई तह लगाउने योजना अनुसार ४ जनाले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको दाहालले बताए । पक्राउ परेको लोकबहादुर, खड्ग बहादुर र हस्त बहादुरले चिर्पट र अलैँची खन्ने छुराको सहयोगबाट सबैको हत्या गरेको देखिएको छ । नरेशले भने शव तानेर खोलासम्म पुराउने र घोप्टो पार्नेमा मद्दत गरेको जनाइएको छ । घटनाको वेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेका थिए । हत्या पश्चात् पुनः खड्ग बहादुर र उनका छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिली कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्किएको अनुसन्धानबाट खुलेको छ ।
यस्तै खड्ग बहादुरको योजना अनुसार तेजबहादुरको घरमा भएको सम्पत्ति समेत लुट्ने योजना रहेको अनुसन्धानबाट देखिएको छ । २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्