विराटनगरका बैंकमा कोभिडको जोखिम

विराटनगरका बैंकमा कोभिडको जोखिम

विराटनगर । सेवाग्राहीले आवश्यक स्वास्थ्य मापदण्डको पालना नगर्दा दिनहुँ भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेको छ ।

सरकारले निश्चित मापदण्ड तोकेर बैङकिङ् क्षेत्रहरुलाई सञ्चालनको अनुमति दिएपनि सेवाग्राहीहरुले आवश्यक स्वास्थ्य सर्तकता नअपनाउँदा बैंक तथा वित्तीय संस्थाहरुमा संक्रमणको जोखिम बढ्न थालेको हो । सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्न झर्को मान्दा पछिल्लो समय बैंककै कर्मचारीहरुमा समेत कोभिडको संक्रमण देखिन थालेको छ । विराटनगरमा पछिल्लो हप्ता दिनयता मात्रै ३ बैंकको १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यसरी संक्रमण देखिनेमा विराटनगरको गोश्वारा रोडस्थित नविल बैंक, हिमालयन रोडस्थित नेपाल एस.बि.आई बैंक र जलजला चौकस्थित नेपाल क्रेडिट एण्ड कर्मश बैंक रहेका छन् ।

विराटनगर–७ स्थित नविल बैंकमा पछिल्लो हप्तादिनमै ६ जना कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा बैंकको प्रदेश प्रमुुख सहित ग्राहक सेवा विभाग (सि.एस.डी) का १, कर्जा विभागका २, क्रेडिट विभागका १ र टेलिफोन अपरेटर १ जना रहेका छन् । जसमध्ये कर्जा विभागका १ जना निको भईसकेका छन् । बाँकी ३ जनामा संक्रमण देखिएको हप्ता दिनपछि बिहीबार थप २ जनामा संक्रमण देखिएको हो । बिहीबार संक्रमण पुष्टि भएका दुईजना कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेर ५ दिनदेखि होम आईशोलेसनमा रहेको बैंकका विराटनगर शाखा प्रमुख गुरुराज रेग्मीले बताए । ‘३ जनामा हप्तादिन अघि संक्रमण देखिएको थियो । त्यसपछि उहाँहरु बिदा लिएर बैंक आउन छोड्नुभएको थियो,’ उनले भने, ‘उहाँहरुको सम्पर्कमा रहनुभएका दुईजना कर्मचारीहरु हिजो संक्रमण देखिएको छ । बिशेषगरि दशैंको भिडभाडले पनि जोखिम बढेको छ ।’

बैंकमा आउने सेवाग्राही र कर्मचारी स्वयंमले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाई नगर्दा बैंकहरु पुनः कोभिडको हटस्पट बन्नसक्ने जोखिम सिर्जना हुँदै गएको स्थानीयले बताएका छन् । विराटनगरस्थित ग्लोबल आई.एम.ई बैंकको हनुमानदास रोड र तिनपैनी चौकको शाखाका कर्मचारीहरुमा समेत संक्रमण देखिएको थियो । उनीहरु पनि हाल निको हुँदै काम फर्किदै गरिरहेका छन् । नविल बैंकसहित विराटनगरको नेपाल एस.बि.आई बैंक र नेपाल क्रेडिट एण्ड कर्मश बैंकका २÷२ जना कर्मचारीमा समेत हालै संक्रमण पुष्टि भएको छ । उनीहरु हाल होम आईशोलेसनमा छन् ।

बिशेषगरि बढी भिडभाड हुने क्षेत्रहरु कोभिडको उच्च जोखिममा रहेको बैंकका कर्मचारीहरुको भनाई छ । विराटनगरमा अहिले पनि भने दैनिक ५० भन्दा बढीको रिपोर्ट पोजिटिभ आउने गरेको महानगरपालिकाको तथ्यांक छ । तर सर्वसाधारणहरुमा कोभिड विरुद्धको खोप लगाईसकेपछि स्वास्थ्य सुरक्षाका अन्य उपायहरु अबलम्बन गर्नुपर्दैन भन्ने मानसिकताको विकास भएका कारण संक्रमण दर पुनः उकालो लाग्दै गएको महानगरपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्