दर्ताबिना सञ्चालित औषधी पसलहरु औषधी व्यवस्था विभागद्वारा सिल

दर्ताबिना सञ्चालित औषधी पसलहरु औषधी व्यवस्था विभागद्वारा सिल

विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले दर्ता बिना तथा अर्काको लाइसेन्स भाडामा लिएर सञ्चालित औषधि पसल सिल गरेको छ ।

आईतबार अनुगमनका क्रममा सुनसरीको बराहक्षेत्रमा एरियामा दर्ता बेगरै सञ्चालित पसलहरु विभागले सिल गरेको हो । विभागका निमित्त प्रमुख सन्जिव शर्मा कट्टेलको नेतृत्वमा खटिएको टोलीले आईतबार बराहक्षेत्रका औषधी पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले बराहक्षेत्र ३ की सबिना राईको नाममा रहेको औषधि पसल, उतिम लाल साहुको नाममा रहेको मनकामना स्वास्थ्य उपचार क्लिनिक, उनदिप चौधरीको नाममा रहेको औषधी पसल र बराहक्षेत्र ५ की सरिता ठाकुरद्धारा सञ्चालित शम्भु मेडिकल हल दर्ता बेगरै सञ्चालन रहेको फेला पारेको थियो । अनुगमनको क्रममा विभागले लाईसेन्स भाडामा लिएर फार्मासिस्टको अनुपस्थितमा फार्मेसी सञ्चालन गरिरहेको २ औषधी पसललाई समेत सिल गरेको छ ।

अनुगमनमा विभागले औषधी उद्योगमा कार्यरत राज कट्टेलको लाईसेन्स प्रयोग गरि इटहरी १७ मा सञ्चालन हुँदै आएको एलिना फार्मेसी पनि सिल गरेको छ । यसका साथै बराहक्षेत्र ५ का प्रमोद कुमार साह तेलिद्धारा सञ्चालित कामना फार्मेसी पनि फार्मासिस्ट अरबिन्द कुमार अग्रहरिको लाईसेन्स प्रयोग गरि सञ्चालन रहेको पाईएपछि विभागले सो फार्मेसी पनि सिल गरेको छ । फार्मेसीमा भने बिना दर्ताका यौनबर्धक औषधि समेत भेटिएको विभागले जनाएको छ । विभागका अनुसार अनुगमनका क्रममा मदिरा पसल र फार्मेसी एउटै सटरमा सञ्चालन गरिएको समेत फेला परेको छ ।

लाइसेन्स भाडामा लगाएर अन्यत्र काम गर्ने फार्मासिस्टमाथि कारबाहीको तयारी

चालु आर्थिक वर्षमा बिना दर्ता अवैधानिक रुपमा सञ्चालित फार्मेसीहरुको अनुगमन तथा निरिक्षणका लागि औषधी व्यवस्था विभागले टीम तयार गरि बिशेष अभियान चाल्ने भएको छ ।

नियम विपरित सञ्चालित औषधी पसलहरुको नियमनका लागि विभागले अभियान चाल्ने रणनिति बनाएको हो । विभागको प्रदेश १ र २ को कार्यक्षेत्रभित्र रहेका फार्मेसी, औषधी उद्योग तथा फार्मेसी बिषयको अध्ययन अध्यापन हुने कलेजहरुबाट फार्मासिस्टको यकीन विवरण संकलन गरि अनलाइन माध्यमबाट काउन्सिल नम्बर सहित रुजु गर्ने विभागले तयारी गरेको हो । यसरी क्रसचेक गर्र्दा लाइसेन्स भाडामा लगाईएको पाईए सम्बन्धित उपर कठोर कदम चालिने औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख सन्जिव शर्मा कट्टेलले बताए । लाइसेन्स भाडामा लगाएर सम्बन्धित स्थानमा कार्य नगरेको भेटिए सम्बन्धित फार्मासिस्टलाई कालो सुचीमा राख्ने तयारी रहेको उनले जानकारी दिए ।

कलेजमा अध्ययन अध्यापन गराई फार्मेसीमा नबस्ने तथा उद्योगमा काम गरेर लाइसेन्स अन्यत्रै भाडामा लाउने फार्मासिस्ट उपर पनि आवश्यक कारबाहीका लागि फार्मेसी परिषदमा सिफारिश गर्ने विभागको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्