विराटनगरका सिनेमा हलहरु घटस्थापनाको दिनबाट खुल्ने

विराटनगरका सिनेमा हलहरु घटस्थापनाको दिनबाट खुल्ने

विराटनगर । कोभिड महामारीका कारण संकटग्रस्त अवस्थामा पुगेका सिनेमा हलहरु आउँदो असोज २१ गतेबाट पुनः सञ्चालनमा आउने भएका छन् ।

नेपाल चलचित्र संघको निर्णय बमोजिम आउँदो घटस्थापनाको दिनबाट हलहरु सञ्चालनमा आउने भएका हुन् । आवश्यक स्वास्थ्य मापदण्डसहित आउँदो घटस्थापनाका दिनबाट देशभरिका हलहरुमा पुनः चलचित्र प्रर्दशन गर्ने तयारी रहेको नेपाल चलचित्र संघले जनाएको छ । संघले १८ महिनाभन्दा बढी समयदेखि हलहरु पुर्ण रुपमा बन्द रहेको हुँदा अब उप्रान्त नेपाली चलचित्र प्रर्दशन गर्दा कम्तिमा २ हप्तापछि मात्र दाश्रो चलचित्र प्रर्दशन गरिने जानकारी दिएको छ । संघका अनुसार स्वदेशी तथा विदेशी चलचित्रको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता निर्माता तथा वितरकलाई ५५ प्रतिशत र दोश्रो हप्ताबाट ५०/५० प्रतिशतका दरले शेयर रकम भुक्तानी गरिनेछ । यसका साथै अब नेपाली चलचित्रको प्रर्दशन मितिमा विदेशी चलचित्रहरु समेत प्रर्दशन नगरिने संघले निर्णय गरेको छ ।

कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी २०७६ चैत्र ११ गतेको देशव्यापी लकडाउन पश्चात सरकारले सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । २०७७ फाल्गुुण मसान्ततिर संक्रमणको जोखिम केही हदसम्म न्युनीकरण भएसँगै आवश्यक स्वास्थ्य सर्तकताका साथ हलहरु सञ्चालनमा आएका थिए । तर, महिनादिन नबित्दै संक्रमण दर बढ्न थालेपछि सरकारी निर्देशन बमोजिम हलहरु पुनः बन्द भएका थिए । हाल नेपाल चलचित्र संघको निर्णयले हलहरु सञ्चालनमा आउने बाटो खुलेसँगै सञ्चालकहरु पनि आवश्यक तयारीमा जुटेका छन् । अभुतपुर्व जोखिममा फस्दै गएको सिनेमा हलहरुको सवालमा भने चलचित्र संघले गरेको निर्णय सकारात्मक रहेको हल सञ्चालकहरुले बताएका छन् । तर, कोभिड महामारीमा दर्शकहरुको आकर्षणको केन्द्र अनलाईन प्लाटफर्म बनिसकेको हुनाले हलहरुमा पुनः दर्शकको फ्लो विगत झैं बनाउने बिषयमा थप केही समस्या चुनौतीहरु रहेको विराटनगरस्थित सिटी सिनेमाका जेनेरल म्यानेजर शंकर मेहताले बताए ।

प्रदेश १ को राजधानी विराटनगरमा मात्रै ३ उच्च स्तरीय मल्टिप्लेक्स र ३ परम्परागत प्रविधिमा आधारित हल गरि कुल ६ वटा सिनेमा घरहरु छन् । विराटनगरमा २०७४ जेठदेखि तिनपैनी चौकस्थित सिटी सिनेमा, २०७५ मंसिरदेखि मेनरोडस्थित सेन्ट्रल मल्टिप्लेक्स र २०७६ मंसिरदेखि धरान रोडस्थित भाटभटेनीमा सुपरमार्केटमा क्यु.एफ.एक्स मल्टिप्लेक्स सञ्चालनमा आएको हो । पछिल्लो ५ वर्षयता सञ्चालनमा आएका यी ३ मल्टिप्लेक्सहरुमा मात्रै कुल ३८ करोडको लगानी छ । यी मल्टिप्लेक्सहरु कुल १ हजार दर्शक अटाउनसक्ने क्षमताका छन् । यसबाहेकका हिमालय, अरुण र बाबा सिनेमा हलमा पनि झण्डै २ हजार दर्शक अटाउन सक्ने क्षमता छ । असोज २१ चलचित्र संघद्धारा निर्धारित स्वास्थ्य मापदण्ड बमोजिम नै हाफ अक्युपेन्सीमा हलहरु सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगरस्थित सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर रमेश झाले बताए । कोभिडको जोखिमलाई दृष्टिगत गर्दै टिकट काउण्टरमा दर्शकको भीड न्युनीकरण गर्न टिकट खरिद समेत अनलाईन प्रणालीमा केन्द्रिकृत गरिने तयारी रहेको उनले जानकारी दिए ।

पछिल्लो ५ वर्षयता विराटनगरमा सञ्चालनमा आएका उच्च प्रविधियुक्त मल्टिप्लेक्सहरुमा सुतेर पनि चलचित्र हेर्न मिल्ने रिक्लाईनर सिट, डेप्थ क्यु प्रविद्यि, डोल्बि एटमस साउण्ड सिस्टम तथा टु डी र थ्री डी स्क्रिन लगायतका बिशेषताहरु छन् । तर, आम्दानी शून्य भएको बेला आन्तरिक खर्च व्यवस्थापन बापत मासिक १० देखि ३० लाख रुँपैयासम्मको व्ययभार व्यहोर्नु परेको सिनेमा हलहरुले चरम आर्थिक संकटको सामना गरिरहँदा हलहरु पुनः सञ्चालनमा आउने खबरले दर्शकहरु पनि उत्साहित देखिएका छन् ।

असोज २१ गते भने फास्ट एण्ड फ्युरियस ९ हलिवुड चलचित्र प्रर्दशन हुने सम्भावना रहेको नेपाल चलचित्र संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्