विराटनगर । प्रदेश १ का सांसदहरुले सुनसरीको वराहक्षेत्र नगरपालिका–५ स्थित सुन्गाभा मुशहरी बस्तीका सिमान्कृत समुदायको अवस्था अध्ययन गरेका छन् ।
राज्यप्रदत्त हक तथा अधिकारको सवालमा शुक्रबार सांसदहरूले उनीहरुको अवस्था अध्ययन गरेका हुन । मुलुक संघीय संरचनामा गएको ३ वर्ष व्यतित भईसक्दा पनि जनताले हालसम्म संघीयताको अनुुभुति गर्न नपाएको अवस्थामा टोलीले गरेको अनुगमनलाई स्थानीयले पनि बेग्लै दृष्टिकोणले हेरेका छन् । पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी र सुरक्षित आवास लगायतका क्षेत्रमा पछि परेका यहाँका स्थानीय अझै पनि परम्परागत जीवनशैलीमा आधारित रहेको टोलीको अध्ययनले देखाएको छ । २१ औं शताब्दीमा आईपुग्दा पनि जनचेतना र कानुन कार्यान्वयनको अभावमा समाजबाट जातीय विभेद, छुवाछुत, बालविवाह र घरेलुु हिंसा लगायतका विकृतिहरु उन्मुलन हुन नसकेको उक्त अध्ययनको निष्कर्ष छ ।
शुक्रबार सिमान्तकृत समुदायको अवस्था अध्ययनको क्रममा आयोजित कार्यक्रममा समेत स्थानीयले खुलेरै आफुहरुले राज्यले प्रदान गरेको सेवा सुविधाको उपभोग गर्न नपाएको गुनासो गरे । शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षित आवास र दलित हक अधिकारको क्षेत्रमा अझै पनि आफुहरुको पहुँच पुग्न नसकेको उनीहरुले बताए । कार्यक्रममा बोल्दै स्थानीय मुर्ति सरदारले गाउँ अझै पनि जातीय विभेद उन्मुलन नभएको बताईन् । उनीले २१ औं शताब्दीमा आईपुग्दा पनि गाउँमा ऋषिदेव समुदायलाई हेर्ने दृष्टिकोण उस्तै रहेको गुनासो गरिन । ‘अहिले पनि ब्राह्मण, क्षेत्री र नेवार लगायतका जातजातिले हामीले छोएको खानेकुरा खाँदैनन् । हामीले छोेएको भाँडाबर्तन हामीले पखालेर दिएपछि उनीहरुले पनि बेग्लै साबुन पानीले पखाल्छन’, उनीले भनिन, ‘हामीलाई उनीहरुको घर प्रवेशमा समेत प्रतिबन्ध छ ।’
कार्र्यक्रममा स्थानीयले गाउँमा अहिले बालविवाहको विकृतिले विकराल रुप लिँदै गएको बताए । बिहेवारी, प्रजनन स्वास्थ्य र परिवार नियोजन बारे आवश्यक चेतनाको अभावमा समस्या दिनप्रतिदिन बढिरहेको उनीहरुले गुनासो गरे । चेतनाको अभावमा यहाँ १२÷१३ वर्षकै उमेर विवाह हुने गरेको स्थानीय मिरा सरदारले बताईन् । ‘यहाँका अधिकांश किशोरकिशोरीले सानै उमेरमा विवाह गर्छन् । परिवारले पनि गरिदिन्छन । कसैले मागी विवाह नै गर्छन भने कोही भागेर जान्छन’, उनीले भनिन, ‘१६ वर्ष पुगेकी किशोरी ३ महिनाको गर्भवती छिन् । यो यहाँका लागि सामान्य बिषय हो ।’
वराहक्षेत्र ५ स्थित सुन्गाभा बस्तीमा ऋषिदेव समुदायको झण्डै २ सय घर छ । तर, नगरपालिकाको बजेट, निति तथा योजना र विकासका कार्यक्रमले यस ठाउँलाई छोएको छैन । जनताले विकासको अनुभुति गर्न पाएका छैनन् । रोजगारीको अभावमा यहाँका जनताको आर्थिक उर्पाजनको बाटो समेत बन्द भएको छ । सरकारको रोजगार कार्यक्रमले समेत गाउँका कसैलाई रोजगारी प्रदान गर्न नसकेको स्थानीयको गुनासो छ । स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरुले पनि जनताको समस्याबारे जानकारी बुझ्ने प्रयास नगरेको स्थानीय भक्कु मुशहरले बताए । उनले बाटोघाटो, शुद्ध खानेपानी, सुरक्षित आवास र शौचालय लगायतका विकास निर्माणको सवालमा सुन्गाभा बस्तीले विकास गर्न नसकेको गुनासो गरे । ‘हामी अहिले पनि ऐलानी जग्गामा बसिरहेका छौं । नम्बरी बनाईदिने आश्वासन मात्र प्राप्त भएको छ’, उनले भने, ‘चुनाव जितेर गएपछि स्थानीय जनप्रतिनिधिले पनि चासो दिँदैनन् ।’
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सोही क्षेत्रबाट निर्वाचित प्रदेश १ प्रदेशसभा सदस्य उमिता विश्वकर्माले चेतनाको अभाव भएकै कारणले यहाँका जनताले प्रगति गर्न नसकेको बताईन् । उनीले राज्यले पनि जनतालाई चेतनशील बनाउने र विकासको अनुभुति दिलाउने बिषयमा भुमिका खेल्न नसकेको हुनाले सिमान्तकृत समुदाय पछि परेको गुनासो गरिन् । उनीले यस समुदायको विकासका लागि आफुलाई पनि संवेदनशील बनाउन आग्रह गरिन् ।
यस्तै कार्यक्रममा बोल्नुहुँदै जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले मितव्ययी भएर खर्च गर्न नसक्दा पनि आर्थिक उर्पाजनको बिषयमा ऋषिदेव समुदाय पछि परेको बताए । उनले आम्दानी सँगसँगै त्यसलाई कसरी खर्च गर्ने बिषयमा पनि ध्यान दिनु आवश्यक रहेको जिकिर गरे । ‘सिमान्तकृत समुदायको आधाभन्दा बढी मासिक आम्दानी मादक पदार्थ सेवनमा खर्च हुन्छ’, उनले भने, ‘यस्तो कुलतले बचत गर्ने अवस्था रहँदैन् । त्यसैले आफ्ना घरपरिवारलाई यस्तो कुलतबाट टाँढा राख्नु तपाईहरुकै जिम्मेवारी हो ।’
शुक्रबारको कार्यक्रममा भने प्रदेश १ सामाजिक विकास समितिकी सभापति सरिता थापा, उद्योग पर्यटन वन तथा वातावरण समितिकी सभापति सीता थेबे, सार्वजनिक लेखा समिति सदस्य लोकप्रसाद संग्रौला र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलको नेता बिष्णु तुम्बाहाम्फे सहित स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा तथा स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।