विराटनगर । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याइएको छ । प्रदेश प्रहरी कार्यालयले १४ जिल्लामा एकसाथ सुरक्षा योजना कार्यन्वयनमा ल्याएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीका अनुसार चाडपर्व सुरक्षाका लागि १४ जिल्लामा सात हजार प्रहरी परिचालन हुनेछन् । ठूलो आर्थिक कारबोर हुने सुन पसल, सपिङ महल, बैकिङ्ग क्षेत्रमा सादा पोशाकका प्रहरीमार्फत विशेष निगरानी बढाईने डिआईजी बिसीले जानकारी दिनुभयो ।
त्यसैगरी सीमा क्षेत्रबाट हुने चोरी पैठारी–निकासी, लागुऔषधको कारोबार, भीडभाड हुने क्षेत्रमा सर्वसाधारणको धनमाल लुटिने र ठगिन सक्ने संभावित जोखिमलाई ध्यान दिदैं प्रहरीले विशेष निगरानी गर्ने डिआईजी बिसीको दावी छ ।
सुरक्षालाई मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालयले १४ जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमार्फत विभिन्न योजना कार्यन्वयनमा ल्याएको छ । डिआईजी बिसीका अनुसार १४ जिल्लामै आइतबारदेखि चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
धेरै आउजाउ हुने प्रदेश १ का मोरङ, सुनसरी र झापाका ठूला शहरमा रहेका बसपार्क, सीमाक्षेत्रका बसपार्क लगायतमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । प्रदेश १ को राजधानी विराटनगरको बसपार्क र रानीमा आइतबार डिआईजी बिसीले यात्रु सहायता कक्षको उद्घाटन गरेसँगै प्रदेशभरका १४ जिल्लामै सहायता कक्ष सञ्चालनमा आएको घोषणा गर्नु भएको थियो ।
प्रहरीले चाडपर्वमा घर बाहिर निस्कदाँ सावधानी अपनाउन समेत आग्रह गरेको छ । लामो समयसम्म घर बाहिर रहँदा रेखदेखका लागि छिमेकीसँग सहकार्य गर्न प्रहरीले आग्रह गरेको हो । डिआईजी बिसीले संभावित जोखिम र आशंका लागेमा नजिकको प्रहरीलाई खबर गर्न र सहयोग लिन आग्रह समेत गर्नु भएको छ ।
चाडपर्वमा सार्वजानिक सवारीमा यात्रा गर्दा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन समेत प्रहरीले आग्रह गरेको छ । बसपार्कहरुमा रहेका हेल्पडेस्कमा रहेका ट्राफिक प्रहरीसँग यात्रा दुरी, भाडादर लगायतका विषयमा जानकारी लिनका लागि समेत प्रहरीले आग्रह गरेको छ । सार्वजानिक सवारीमा चाडपर्वमा हुने बढी भीडभाडले कोरोना संक्रमणको जोखिम निम्त्याउने भएकोले यात्राका क्रममा सावधानी अपनाउनका लागि सबैले प्रहरीसँग समन्वय गर्नुपर्नेमा जोड दिइएको छ ।